काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७६/७७ का लागि राखेको वार्षिक राजस्व संकलनको संशोधित लक्ष्य भेटाएको छ।
चालु आर्थिक वर्षको अन्तिम दिन बुधबार बेलुकासम्म ८ खर्ब २७ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ। बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले ११ अर्ब र नेपाल आयल निगमले २ अर्ब रुपैयाँ सरकारी खातामा हालेका छन्। नेपाल बैंक लिमिटेडको बैंकिङ प्रणाली समस्या देखिएका कारण संकलित राजस्व रकम केहि बढ्ने अर्थ मन्त्रालय श्रोतले जनाएको छ।
चालु आर्थिक वर्षका लागि ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ बराबर राजस्व संकलनको शुरुवाती लक्ष्य सरकारले राखेको थियो। तर अर्धवार्षिक समिक्षामार्फत राजश्वको लक्ष्य करिब ५ प्रतिशतले घटाएर १० खर्ब ५६ अर्ब ७० करोड रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको थियो।
कोभिड १९ महामारीका कारण यो आर्थिक वर्षमा बजेट खर्च र राजस्व संकलन दुवैको लक्ष्य कम हुने भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामि आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत दोस्रोपटक बजेट खर्च र राजस्व संकलन लक्ष्य संशाधन गरेका थिए। बजेट वक्तव्यमार्फत राखिएको ७४ दशमलव ४ प्रतिशत अर्थात ७४ दशमलव ४ प्रतिशत बराबर राजस्व संकलनको लक्ष्य पूरा भएको हो।
ठूला करदाता कार्यालयले असारमा ४५ अर्ब रुपैयाँ बराबर राजस्व उठाएको छ। यो वर्ष भन्सार राजश्ज लक्ष्यभन्दा राम्रो देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।