काठमाडौं– महालेखा परीक्षकको कार्यालयले ५७ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षका निजी सचिवालयका कर्मचारीले ऐन विपरीत खाजा तथा खाना लगायतको भत्ता लिएको जनाएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधा ऐन, २०७३ को दफा ५ सय २२ भन्दा बाहिर गएर भत्ता लिएको महालेखको ५७ औं प्रतिवेदनमा उल्लेख छ।
प्रतिनिधि सभाका सभामुख, उपसभामुख एवं राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षका स्वकीय सचिवालयका कर्मचारीहरुले सुरुको स्केलअनुसार तलबमात्र पाउने उल्लेख भएकोमा सो विपरीत भत्ता लिएको प्रतिवेदनमा उल्लेख छ।
उनीहरुको निजी सचिवालयका कर्मचारीहरुले तलबको अतिरिक्त प्रोत्साहन भत्ता, मंहगी भत्ता र खाजा-खाना खर्च बापत २३ लाख ८७ हजार रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ। उक्त काम नियम विपरीत रहेको र सुविधा दिने निर्णय गर्न मिल्ने आधारसमेत नरहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।