काठमाडौं- इजिलिंक रेमिटेन्सले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुनेगरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ। यो व्यवस्थासँगै इजिलिंक रेमिट्यान्सका भुक्तानीका कारोबारहरु कनेक्ट आपिएस ई-पेमेन्ट प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल आइपिएस मार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ। यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सको लागि इजिलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआई मार्फत हाल उपलब्ध कनेक्ट आइपिएस र एनसिएचएल आइपिएसको सञ्जालमा क्रमश ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन्। एनसीएचएलले एनसिएचएल इसिसी, एनसिएचएल आइपिएस, कनेक्ट आइपिएस इ पेमेन्ट, कनेक्ट आरटिजिएस र एपिआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ।
साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/ पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ। यसमा हाल आइएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जिएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढी रेमिट्यान्स कम्पनीहरु समावेश छन् भने अन्य ३४ गैर-बैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्केन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु रहेका छन्।
इजिलिंक रेमिटेन्स प्रा.लि सन् १९९९ मा स्थापना भएको अग्रणी रेमिट्यान्स कम्पनी हो। यसले सुरक्षित, छिटो र भरपर्दो माध्यमबाट विदेशबाट नेपालमा रेमिट्यान्स पठाउन योगदान पुर्याउँदै आइरहेको छ। यसले उचित शुल्कमा गुणस्तरीय रेमिटेन्स सेवा पुर्याउने उद्देश्यका साथ नेपालभित्र र बाहिर विभिन्न साझेदारी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।