काठमाडौं- राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याटबिल) प्रयोग गरी राजस्व छलि गर्ने काठमाडौं महानगरपालिका-१ स्थित युनिक वाइड इन्टरनेश्नल प्रालि र न्यू युनिक इन्टरनेशनल का संचालक भुवन पाण्डेविरुद्ध मुद्दा दायर गरेको छ।
पाण्डेले ३७ करोड ८० लाख २८ हजार ७ सय रुपैयाँ बराबरको नक्कली भ्याटबिल बनाएको भन्दै विभागले सोही रकम बराबर बिगो असुल र जरिवानाको माग गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनलले वस्तु तथा सेवा खरिद नै नगरी झुट्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजकमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले दायर गरेको मुद्दामा भनिएको छ।
यी दुई कम्पनीले मूल्य अभिवृद्धि करतर्फ १२ करोड ४२ लाख २८ हजार ६ सय १७ रुपैयाँ, आयकरतर्फ २२ करोड ८० लाख ५९ हजार ३ सय ९ रुपैयाँ र लाभांश करतर्फ २ करोड ५७ लाख ४० हजार ७ सय ७३ रुपैयाँ गरी कुल ३७ करोड ८० लाख २८ हजार ७ सय रुपैयाँ बराबर राजस्व चुहावट गरेको देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।