काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकाल प्यानलका उपाध्यक्षका प्रतिस्पर्धीहरुले उम्मेद्वारी घोषणा गरेका छन्। व्यवसायीहरु रामचन्द्र संघाई, उमेशलाल श्रेष्ठ र गुणनिधि तिवारीले उम्मेद्वारी घोषणा गरेका हन्।
संघाईले एसोसिएटतर्फको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। हाल वस्तुगत संघ संगठनतर्फका उपाध्यक्ष रहेका श्रेष्ठ फेरि यही पदमा दोहोरिने गरी उम्मेद्वारी दिएका छन्। जिल्ला नगरतर्फ नवलपरासीका व्यवसायी तिवारी अगाडि सरेका छन्।
उम्मेद्वारी घोषणासभामा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी ढकालले अहिले देखिएको आर्थिक चुनौती भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेकाे र नेपालमा पनि त्यसको विकल्प नभएको बताए। उनले कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्न एकताबद्ध, सशक्त र बलियो महासंघ आवश्यक पर्ने उल्लेख गरे।
ढकालले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्थाको मर्म मर्न लागेको टिप्पणी गरेका छन्। ‘मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं? त्यसको मर्मलाई अहिले कसले मार्दैछ, त्यो के का लागि?,’ उनले भने।
वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बनाउन आफूले ठूलो लबिङ गरेको स्मरण गर्न उनले आग्रह गरे। ‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिनाअघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लबिङ गरेको थियो?,’ उनले भने, ‘भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।