काठमाडौं– कपाल काट्ने उनको पुख्र्यौली पेशा। त्यसैलाई पछ्याउँदै करिब ३५ वर्षदेखि राजाराम ठाकुर निरन्तर कपाल काट्दै आएका छन्। झन्डै ३० वर्षअघि काठमाडौं छिरे लगत्तै सैलुनमा काम सुरु गरेका उनले सोचेका पनि थिएनन् कि काठमाडौंमा देशका प्रधानमन्त्रीदेखि कहलिएका नेताहरुसम्मका कपाल काट्ने मौका पाउनेछु।
सप्तरीको राईपुरमा २०२० सालमा जन्मिएका ठाकुर एसएलसी दिएपछि २०४२ सालमा काठमाडौं आए। एक जना साथीको सैलुनमा काम गर्न थाले। काठमाडौंका सुरुवाति दिन सम्झँदै उनले भने, ‘हामीले जानेको पेशा नै यही थियो, बुबाले कपाल काटेको देखेर मैले पनि कपाल काट्न सिकें। त्यसैले काठमाडौंमा आउने बित्तिकै यही पेशामा लागें।’
उतिबेला काठमाडौं सामाजिक रुपमा अहिलेजस्तो खुला र आधुनिक भइसकेको थिएन। मधेसीमूलका मान्छे देख्नेबित्तिकै ‘इन्डियन’ भनेर हेपिनुपरेको उनी आफैंले भोगेका छन्। ‘कालो मान्छे देख्नेबित्तिकै ठूलाले मात्र होइन, सानाहरुले पनि हेप्ने,’ उनले पीडा सुनाए, ‘हामीलाई त विश्वास पनि नगर्ने, बस्नलाई कोठासमेत पाइन्नथियो।’
दुई वर्ष साथीको सैलुनमा काम गरेका ठाकुरले त्यसपछि भने आफ्नै सैलुन खोले, डिल्लीबजारमा। छोरी शोभाको नाममा खोलिएको सैलुन अहिले पनि डिल्लीबजार क्षेत्रमा उत्तिकै चर्चित छ।
उनीकहाँ कपाल काट्न आउनेहरु सामान्य नागरिक मात्र हुँदैन थिए, कुनै बेला नेपाली राजनीतिको मियो बनेका पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालादेखि धेरै नेता, प्रशासक, व्यापारीहरु उनको सैलुनमा कपाल काट्न पुग्थे।
‘गिरिजाबाबुको कपाल मैले नियमित रुपमा काट्थें, पछि सुशील दा (सुशील कोइराला, पूर्वप्रधानमन्त्री) को पनि कपाल काटें,’ ठाकुरले सुनाए, ‘रामशरण महत, विजय गच्छदार, शेखर कोइराला लगायतका प्रायः नेताहरु मसँगै कपाल कटाउँथे। सरकारका सचिव, सहसचिवहरु, कलाकार पनि मेरोमा आउँथे।’
राजारामका अनुसार ३ दशकअघि काठमाडौंमा अहिलेजस्तो सैलुनहरु थिएनन्। ‘कपाल काट्न सैलुन खोज्दै हिँड्नुपथ्र्याे,’ उनले भने, ‘काठमाडौं, भक्तपुर र ललितपुरमा गरी करिब ३ सयको हाराहारीमा सैलुन थिए होलान्। तर, सबै आ–आफ्नै हिसाबले चलिरहेका थिए।’
राजनीतिक नेता अनि उच्च ओहदाका कर्मचारीले आएर कपाल काट्दा उनीहरुबाट थोरैथोरै राजनीति र देशका घटनाक्रमबारे राजारामले बुझ्ने मौका पाए। उनलाई पनि कताकता राजनीतिको रस बसिसकेको थियो। राजारामले भने, ‘काठमाडौंभरिका सैलुनलाई किन एउटै छातामुनि नल्याउने भन्ने विचार मनमा आयो।’
कपाल काट्न आएका कलाकार सरोज खनालसँग राजाराम ठाकुर
उनी यसका सक्रिय भएर लागे। २०४६ सालको राजनीतिक परिवर्तनपछि उनका लागि सैलुनहरुलाई संगठित रुपमा एउटै धागोमा बाँध्ने काममा थप सहज भयो। ‘२०४७ सालमा नेपाल नाई संघ स्थापना गर्यौं।
उतिबेला कपाल काटेको २ रुपैयाँ र दाह्री बनाएको १ रुपैयाँ मात्र थियो। ‘सुरुका दिनमा निकै गाह्रो थियो। सबै सैलुनमा एउटै दररेट थिएन, तर हामीले संघ स्थापना गरेपछि कपाल काटेको दररेट नै तोक्यौं,’ उनले सुनाए, ‘कपाल काटेको ५ रुपैयाँ र दाह्री काटेको ३ रुपैयाँ बनायौं। सँगसँगै आधा सैलुन मालिकले लिने र आधा काम गर्नेले पाउनुपर्ने नियम पनि बन्यो।’
ठाकुर अहिले नाईहरुका नेता बनिसकेका छन् । दुई साताअघि काठमाडौंमा सम्पन्न नेपाल नाई संघको महाधिवेशनबाट उनी केन्द्रीय अध्यक्षमा निर्वाचित भए। उनी भन्छन्, ‘नेताहरुको कपाल काट्दाकाट्दै म पनि नेता बनिहालें। यो पेशालाई कसरी सम्मानित र राम्रो बनाउने भनेर म लागिरहेको छु।’
काठमाडौं आउँदा अरुकै सैलुनबाट काम सुरु गरेका राजारामले अहिले आफ्नो सैलुनमा ५ जनालाई रोजगारी दिएका छन्।
अहिले उनी सैलुनमा कपाल काट्नभन्दा संघकै काममा बढी व्यस्त हुन्छन्। सैलुनमा कमै भेटिन्छन्। अहिले भने पुराना केही ग्राहकको मात्र कपाल काट्छन् उनी। ‘उमेरले पनि बुढो भइयो, समय पनि हुँदैन,’ उनले थपे, ‘पहिलादेखि नै मैले कपाल काट्दै आएका ग्राहकहरु मैबाट कपाल काट्न खोज्छन्। उनीहरुको कपाल काट्ने बाहेक म सैलुनमा कमै बस्छु।’ पुराना ग्राहकमध्ये रिद्धिसिद्धि ज्वेलर्सका साहू आज पनि ठाकुरकै हातबाट कपाल कटाउँछन्।
राजारामलाई अहिले एउटा चिन्ताले सताउन थालेको छ, त्यो हो पेशामा पुस्तान्तरणको अभाव। आफ्नो पुस्तासम्मकाले यो पेशा धाने पनि पछिल्लो पुस्ता भने यो पेशाप्रति आकर्षित देखिँदैनन्।
उनका आफ्नै दुई छोराले पनि सैलुनमा काम गर्ने रुची देखाएनन्। ‘एउटा आइटी पढिरहेको छ, अर्काे सिभिल इन्जिनियर’, उनले भने, ‘उनीहरुले सैलुन चलाउँदैनन्, मैले पनि कर गरिनँ।’
युवाहरुको वैदेशिक रोजगारीमा मोह बढेकाले नेपालमा सैलुनमा काम गर्ने नाईहरुको अभाव हुन थालेको बताउँछन् उनी। ‘ युवाहरु विदेश गएर पैसा कमाउन खोज्छन्, सैलुनमा काम गर्न खोज्दैनन्,’ उनले भने, ‘के गर्नु विदेशमा भन्दा यही धेरै कमाइ छ, कपाल काटेर मासिक ४०–५० हजार रुपैयाँसम्म कमाउन गाह्रो छैन। काम पनि सजिलो छ ।’
३ दशकदेखि कपाल काट्दै आए पनि उनलाई खड्किएको एउटै कुरा हो, यो पेशालाई अहिले पनि सम्मानका दृष्टिले हेरिँदैन। कपाल काट्नेलाई हेपेरै बोल्नुपर्छ, पैसा नतिर्न पाए पनि हुन्छ भन्ने सोच विद्यमान छ।
उनले भने, ‘पहिलाभन्दा त धेरै परिवर्तन भइसकेको छ। तर, नाईलाई सम्मानपूर्वक व्यवहार नगर्ने घटना अहिले पनि छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।