काठमाडौं- डोल्पा जिल्लामा ५ सय १२ मेगावाट उत्पादन क्षमताको भारभुङ जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गर्न विद्युत विकास विभागले परामर्शदाता कम्पनी छनोट गरेको छ।
जर्मनीको फिस्टन इन्जिनियरिङ कम्पनी, जापानको न्युजेक इन्का र नेपालको हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनी लिमिटेडले संयुक्त रुपमा आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि विभागसँग मंगलबार सम्झौता गरेको हो।
आयोजनामा नेपाली कम्पनी सिम्याट इन्जिनियरिङ कम्पनीले सह–परामर्शदाताको रुपमा काम गर्ने पनि सम्झौता भएको छ। हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनी बुटवल पावर कम्पनीको सब्सिडरी कम्पनी हो।
जलाशययुक्त उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मुल्यांकनको काम ४ वर्षभित्रमा सक्नेगरी २२ करोड १९ लाख रुपैयाँमा सम्झौता गरिएको विभागले जनाएको छ।
आयोजनास्थल जिल्लाको ठूलीभेरी नगरपालिका र काँइके गाउँपालिकामा रहेको छ। त्यस्तै भारभुङ जलाशययुक्त आयोजना निर्माणका लागि आवश्यक पर्ने विद्युत उपलब्ध गराउनका लागि विभागले १० मेगावाट उत्पादन क्षमताको तातु खोला जलविद्युत आयोजना पनि बनाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।