ललितपुर–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको बताएकी छन्। राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक योजनाबारे बुधबार आयोजित छलफलमा मन्त्री अर्यालले यस्तो बताएकी हुन्।
कार्यक्रममा अर्यालले सहकारी क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा दीर्घकालीन रुपमा प्रभाव पार्ने दस्तावेज बनाउने गरी तयारी गरिएको जानकारी दिइन्।
सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउने ठूलो चुनौती रहेको भन्दै उनले सरकार, सहकारी अभियन्ता, विज्ञ सबै मिलेर सचेत हुनुपर्ने उल्लेख गरिन्। बोर्डले तयार गरेको दीर्घकालीन रणनीतिमा छलफल गरेर सुझाव दिनसमेत उनले आग्रह गरिन्।
त्यस अवसरमा राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन गर्नका लागि तयार पारिएको मस्यौदामा छलफल गरिएको थियो। सहकारीलाई व्यावसायिकतामा लैजानुपर्ने, उत्पादनसँग जोड्नुपर्ने र सुशासन कायम गर्दै प्रविधिमैत्री बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी नीतिको मस्यौदामाथि धेरै छलफल रअध्ययन गरेर सुझाव दिनसमेत आग्रह गरिन्।
त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बचत तथा ऋण सहकारीलाई बढी नियमन गर्न आवश्यक रहेको बताए। राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीतिक योजना तयार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।