काठमाडौं- महालेखा नियन्त्रक कार्यालय (मलेनिका)ले सरकारी ठेक्काको भुक्तानी गर्दा कट्टी हुने ५० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बापतको रकम यसै आर्थिक वर्षभित्र जम्मा गराउन सम्पूर्ण कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन पठाउँदै मलेनिकाले अग्रिम कट्टी हुने भ्याटको रकम यसैवर्षभित्र जम्मा गराउन भनेको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारी ठेक्काको भुक्तानीमा ५० प्रतिशत मूल्य अभिवृद्धि कर कट्टी गरेर मात्रै सम्बन्धित पक्षलाई भुक्तानी दिने व्यवस्था गरेको थियो। त्यसअनुसार हरेक कार्यालयले सरकारी कामकाजको भुक्तानी दिँदा भ्याटबापतको ५० प्रतिशत रकम कट्टा गरेर मात्रै ठेकेदारलाई पैसा दिँदै आएका छन्।
'आर्थिक वर्ष २०७६/०७ मा जारी भएका स्रोतमा करकट्टी वा ६.५ भ्याटलगायत सरकारी खर्चसँग सम्बन्धित सबै किसिमका राजस्वको चेक असार मसान्तभित्रै जम्मा गरी सक्ने व्यवस्था मिलाउने,' मलेनिकाको निर्देशनमा भनिएको छ। ठेकेदारले सरकारलाई बुझाउनुपर्ने भ्याट रकम समयमै दाखिला नगरेको भन्दै सरकारले चालु वर्षको बजेटबाट मूल्य अभिवृद्धि करको आधा हुने रकम अग्रिम भुक्तानी हुने व्यवस्था मिलाउने व्यवस्था गरेको थियो। कोष तथा लेखा नियन्त्रक कार्यालयमा जम्मा हुने रकम राजस्व खातामा आउन ढिला हुने गरेपछि केन्द्रबाट यस्तो निर्देशन दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।