काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा नसमेटिएका कतिपय विषय र बजेटदेखि हालसम्मको भ्याकुमलाई समेत सम्बोधन गर्नेगरी मौद्रिक नीति ल्याउने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई आइतबार दिएको सुझाव प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले अहिलेको परिस्थतिलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति ल्याउने बताए। ‘राष्ट्र बैंकले चारवटा कार्यादल बनाएर अध्ययन गरिरहेको छ’ उनले भने, ‘कतिपय बजेटमा नसमेटिएका अथवा बजेटदेखि हालसम्मको भ्याकुमलाई समेत समेटेर मौद्रिक नीति ल्याउनेछौं।’
सेजनले मौद्रिक नीतिसँग सरोकार राख्ने निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, पुँजी बजार, पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार, विदेशी लगानी, आयात निर्यात, अटोमोबाइल, रियलस्टेटलगायत क्षेत्रसँग अन्तरक्रिया गरेको थियो।
सरोकारावालासँगको छलफल तथा अन्तरक्रियालाई समेत समेटेर सेजनले मौद्रिक नीतिका लागि सुझाव प्रतिवेदन तयार पारेर राष्ट्र दिएको हो।
सेजन अध्यक्ष भिमप्रसाद गौतमले उक्त सुझाव प्रतिवेदन गभर्नर अधिकारीलाई हस्तान्तरण गरे। गभर्नर अधिकारीले सेजनले दिएका सुझावलाई आगामी मौद्रिक नीतिमा समेटिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।