काठमाडौं- आफूलाई तपस्वीको रुपमा चिनाउँदै आएका रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषण र यौन सन्तुष्टि प्राप्त गर्ने अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
सरकारी वकिलले बम्जनलाई फरार प्रतिवादी देखाउँदै १४ वर्षसम्म कैद सजाय र बालबालिका ऐनअनुसार क्षतिपूर्ति माग दाबीसहित सर्लाहीको जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। १४ देखि १६ वर्ष उमेरका बालिकालाई बलात्कार गरेको कसुरमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान मुलुकी अपराध संहितामा रहेकाले त्यहीअनुसार मागदाबी लिएर मुद्दा दायर गरिएको हो।
बम्जनका दुई सहयोगीलाई समेत मतियारका रूपमा मुद्दा दायर भएको छ। बम्जनका सहयोगीहरु आफूलाई तोप्चेन महात्मा गुरु भनेर चिनाउने ज्ञानकुमार बम्जन र जितबहादुर तमाङविरुद्ध मतियारको अभियोगमा मुद्दा दायर भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को सहयोगमा सर्लाही प्रहरीले बम्जनमाथि अनुसन्धान गरेको थियो। प्रहरीले दुई पटक उनलाई पक्राउ गर्न खोजेपनि असफल भएको थियो। प्रहरी आउने संकेत पाएपछि उनी हरेक पटक फरार हुदै आएका छन्।
२० साउन ०७३ मा उनले सर्लाहीको आश्रममा १८ वर्षीया आनीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। धम्क्याएर पटक–पटक बलात्कार गरेको पीडितको उजुरीको आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो।
उनका कर्तुत सार्वजनिक भएपछि घटनाको दुई वर्षपछि पीडितले जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा गत २३ फागुनमा जिल्ला अदालत सर्लाहीले बम्जनविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
त्यसयता प्रहरीले सिन्धुलीस्थित उनको आश्रममा तीनपटक छापा मारे पनि उनी भने पक्राउ परेनन्। मुद्दाको हद म्याद सकिन लागेकाले फरार बनाएर उनीविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।