काठमाडौं– भक्तपुरका नारायण सिवाकोटी युनिटी लाइफ इन्टरनेसनल नामक कम्पनीको प्रबन्धकका रुपमा काम गर्थे। सरकारले सो कम्पनी अवैध भएको भन्दै कम्पनी बन्द गरी सञ्चालक र कर्मचारीहरुमाथि छानबिन गर्दा उनी पनि पक्राउ परे।
जिल्ला अदालतले सिवाकोटीलाई पनि युनिटीका मुख्य हिस्सेदार भन्दै पुर्पक्षका लागि कारागार चलान गर्यो। पुनरावेदन अदालतले सञ्चालकलाई मात्र दोषी ठहर गरेपछि करिब तीन वर्षअघि उनी छुटे।
जेलबाट छुटे पनि सिवाकोटी नेटवर्किङ व्यवसायबाट अलग्गिन सकेनन्। पहिले युनिटीमै लागेका व्यक्तिहरुसँग मिलेर आई-बोस ग्लोबल मार्केटिङ नामक कम्पनीमा आबद्ध भए। सो कम्पनीमार्फत उनले ५ हजार ८ सय ८९ जनालाई सदस्य बनाएर लाखौं रकम उठाइसकेका थिए।
अवैध नेटवर्किङ व्यवसायका कारण करिब ३ वर्ष जेल बसेका उनी यतिबेला फेरि सोही प्रकरणमा हिरासतमा पुगेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीसहित ७ जनालाई मंगलबार पक्राउ गरेको छ।
आई-बोस कम्पनीको नाममा पिरामिड शैलीको नेटवर्किङ व्यवसाय चलाएको आरोपमा कम्पनीका सञ्चालक काठमाडौं धुम्बाराही बस्ने काभ्रे पाँचखाल–१५ का ३५ वर्षीय राजकुमार दंगाल र सिवाकोटीसहित ७ जना पक्राउ परेका हुन्। पक्राउ पर्ने अन्यमा जोरपाटी बस्ने रामेछाप प्रिती–९ बखालीका २५ वर्षीय भक्तबहादुर नेपाली, जोरपाटी बस्ने रामेछाप प्रिती–९ उमाकुण्डका २५ वर्षीय रविन नेपाली, चावहिल बस्ने सोलुखुम्बुका २० वर्षीय प्रदीप राई, ललितपुर नखिपोट बस्ने रामेछाप प्रिती–४ का २७ वर्षीय तिर्सना सुनुवार र चावहिल बस्ने रामेछापका २५ वर्षीय पूर्णबहादुर श्रेष्ठ रहेका छन्।
उनीहरुले ठूलो संख्यामा सदस्य बनाइसकेको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए। पक्राउ परेकामध्ये सिवाकोटी लगायत व्यक्तिहरु विगतमा पनि विभिन्न कम्पनीमा आबद्ध भएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।