लहान– प्रधानमन्त्री केपी शर्मा ओलीका साथै मन्त्री र पूर्वमन्त्रीहरु लगायतले बुधबार प्रदेश नम्बर २ का तीन जिल्लामा १४ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।
सिरहाका ६, सप्तरीमा ५ र धनुषाका ३ बालबालिकाले अभिभावकत्व पाएर विद्यालयमा भर्ना हुने अवसर पाएका हुन्।
एक वर्षअघिसम्म मधेसको शत्रुका रुपमा दरिएका प्रधानमन्त्री ओली सिरहाको कल्याणपुर नगरपालिका– ११ का विपन्न दलित समुदायका दुई विद्यार्थीका अभिभावक भएका छन्।
स्थानीय रूपाकुमारी खत्वे र पवन मल्लिक डोमलाई रामदुलारी माविमा भर्ना गराएपछि उनी दलित बालबालिकाका अभिभावक भएका हुन्। देशव्यापारी विद्यार्थी भर्ना अभियान अन्तर्गत उनले दुवै बालबालिकालाई कक्षा १ मा भर्ना गराए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कल्याणपुर–११ का राहुलकुमार महरा र प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सोनुकुमार खत्वे र सिरहाका प्रमख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मनीषाकुमारी मल्लिक डोमको अभिभावकत्व ग्रहण ग्रहण गर्दै विद्यालय भर्ना गराए।

केन्द्रीय बालकल्याण समितिका तारक धितालले कल्याणपुर क्षेत्रका गरिब, विपन्न र दलित समुदायका १० विद्यार्थीको अभिभावकत्व लिएका थिए। शिक्षा विकास तथा समन्वय इकाई सिरहाका अनुसार सिरहामा १५ हजार ९५ विद्यालय जाने उमेरका बालबालिका विद्यालयबाहिर छन्। जिल्लाको साक्षरता प्रतिशत ५१.१५ प्रतिशत छ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा कसैले पनि शिक्षाबाट वञ्चित हुनु नपर्ने र उपचार, खान नपाएर, जाडोले कठ्याङ्ग्रिएर ज्यान गुमाउनुनपर्ने बताए। दाइजो, बालविवाह र बोक्सी प्रथा विरुद्ध तिखो प्रहार गर्दै प्रधानमन्त्री ओलीले अशिक्षाले मान्छेलाई मुर्ख बनाएको बताए।
उता, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले धनुषाका तीन बालबालिकाको अभिभावकत्व ग्रहण गरे। मन्त्री पोखरेलले धनुषाधाम नगरपालिका (९ मा धारापानीमा रहेको जनताश्री माविमा पुगेर अर्चना विकलाई कक्षा ३ मा तथा रेखा अधिकारी र पशुराम विकलाई कक्षा १ मा भर्ना गराए।
शिक्षामन्त्री पोखरेलले सप्तरीको राजविराज नगरपालिका ९ मलेठगढियामा रहेको जनता राष्ट्रिय प्रावि पुगेर टिङ्कु मरिकलाई कक्षा १ मा भर्ना गराए।
यस्तै, पूर्वमन्त्री विश्वनाथ शाहले श्यामसुन्दर सदालाई कक्षा १ मा तथा पूर्वमन्त्री उमेश यादवले राजाकुमार सदा, सुरजकुमार सदा र कृपानन्द सदालाई कक्षा १ मा भर्ना गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।