रुपन्देही– नेपाल–भारत सीमानाका बेलहिया–सुनौली नजिकै रहेको फरेनामा हरेक बुधबार र शनिबार हाटबजार लाग्छ। फरेनाबाट लाखौं नेपाली मुद्रा भारततर्फ जाने गरेको छ।
भारतीय बजार सुनौलीको केवटलियामा पर्ने फरेनामा किनमेलका लागि हजारौंको संख्यामा नेपालीहरु पुग्ने गर्छन्। पाँच दशकदेखि हाटबजार लाग्न सुरु गरेको फरेनामा उपभोग्य सामग्रीदेखि लत्ताकपडा र भाँडाकुँडा किन्न जानेहरुको भिडभाड दिनप्रतिदिन बढ्दै गएको छ।
नाकाबन्दीको समयपछि बढ्दै गएको फरेनाको हाटबजार पछिल्लो समय अझ विस्तार भइरहेको छ। फरेना बजारमा नेपाली ग्राहकहरुको चहलपहल बाक्लिँदै जाँदा भैरहवा आसपासका पसलहरुमा भने व्यापार सुक्दै गएको छ।
फरेनामा ८ वर्षदेखि पसल थाप्दै आएका हरिश बनियाले नेपालीकै भरमा यहाँका पसलहरु चल्दै आएको बताए। उनले भने, ‘पहिला–पहिला ग्राहकहरु निकै कम आउँथे, पछिल्लो समय भने नेपालीहरुका कारण बजार भरिभराउ हुन्छ।’
आफूले कैयौं नेपाली ग्राहकहरु बनाएको भन्दै उनले हाटबजारको दिन खाना खान समेत फुर्सद नहुने बताए। ग्राहक बढेसँगै पसलहरुको संख्या पनि उल्लेख्य मात्रामा बढ्दै गएका छन्।
उनले भने, ‘यहाँ पहिला ७०/८० वटा पसल मात्र लाग्थे, अहिले भने ४–५ सय पसलहरु लाग्ने गरेका छन्।’

फरेना बजार नुनदेखि सुनसम्मका पाउने थलोको रुपमा परिचित छ। अन्य ठाउँभन्दा सस्तो मूल्यमा सामान पाइने हुँदा नेपाली ग्राहक अरु ठाउँ छाडेर यहाँ आउने गरेको व्यापारी हरिराम गुप्ता बताउँछन्।
भैरहवाबाट रिक्सा, ई–रिक्सा, टाँगा, साइकल, मोटरसाइकल र बसमा ४ किलोमिटरको दूरी पार गरेर फरेना बजारमा किनमेल गर्न ग्राहक जाने गर्छन्। रुपन्देहीका साथै कपिलवस्तु र नवलपरासीका सर्वसाधारण किनमेलका लागि पुग्ने गरेका छन्। ग्राहकहरुको ओइरोले बुधबार र शनिबार भैरहवा देखि मेउडिहवासम्मको बाटो नै जाम हुने गरेको छ।
पारि चम्किँदो व्यापार, वारि निराश व्यवसायी
उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा भैरहवाका कपडा व्यवसायी ओमकार गौचनले किनमेलका लागि नेपाली ग्राहकलाई पहिल्यैदेखि भारत जाने बानी लागेको बताए। जसका कारण करोडौं नेपाली रुपैयाँ सीमापारि जाने गरेको भन्दै यसलाई रोक्न जरुरी रहेको उनले औंल्याए।
सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले भारतीय बजारमा सस्तोको नाममा गुणस्तरहीन सामानको प्रयोगले आम नेपाली सर्वसाधारण ठगिने गरे पनि यसबारे कोही सचेत नभएको बताए।
‘फरेनामा हुने कारोबारका कारण नेपाली खाद्य तथा गल्ला बजार सुनसान जस्तै हुने गरेको छ’, आचार्यले भने, ‘स्थानीय प्रहरी प्रशासन तथा मेउडिहवामा रहेको छोटी भन्सार कार्यालयले कडाइ गर्नुपर्छ।’
भैरहवामै गुणस्तरीय र सस्तो सामान पाइने भए पनि किनमेलका लागि भारततर्फ जाने प्रवृत्तिलाई सरकारले कुनै योजना ल्याएर निरुत्साहित गर्नुपर्ने उनको धारणा छ।
उद्योग व्यपार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले खुला सिमानाका कारण नेपालीहरु फरेना बजारमै किनमेल गर्न जाँदा स्वदेशी व्यापारी विस्थापित हुने अवस्थामा पुगेको बताए।
उनले भने, ‘सरकारले स्वदेशी बजार प्रवर्द्धन गर्न कुनै कार्यक्रम ल्याउन नसक्दा सस्तोमा उपभोग्य सामग्री खरिद गर्न भन्दै नेपाली उपभोक्ता भारतीय बजार गएर गुणस्तरहीन वस्तु खरिद गरिरहेका छन्।’
तर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली भने नेपाली बजार जोगाउन कुनै कदम चाल्नुको साटो फरेनामा सस्तोमा पाइने भएकैले नेपालीहरु पारि जाने गरेको प्रतिक्रिया दिन्छन्।
‘सस्तोमा सामान किन्न पाएपछि त नेपाली रुपैयाँ भारत जाने नै भयो’, उनले भने।
उनले छोटी भन्सार कडाइ गर्ने विषयमा बुझेर मात्रै प्रतिक्रिया दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।