काठमाडौं- सवारी साधन धितोमा प्रवाहित हायर पर्चेज शीर्षक कर्जामा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको छुट बाहेक गरिमा विकास बैंकले थप एक महिनाको ब्याज छुट दिने घोषणा गरेको छ।
कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि घोषणा गरेको देशव्यापी बन्दाबन्दीका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्यधिक प्रभाव परेको देखिएकाले सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी प्रवाह भएको कर्जामा यस्तो छुटको घोषणा भएको हो।
गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरिरहेका ऋणीलाई वैशाख र जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत बिन्दुको छुटबाहेक असार महिनाको ब्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको हो।
ऋणीहरुले असार मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।