काठमाडौं- फिल्म क्षेत्रमा आफूमाथि भएको अन्याय र दुर्व्यवहारबारे सामाजिक सञ्जालमार्फत खुलासा गर्दै आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले मंगलबार युट्युबरको आलोचना गर्दै इन्स्टाग्राममा भिडियो पोस्ट गरेकी छन्। फिल्म क्षेत्रमा निर्माता र निर्देशकले आफूमाथि गरेको गलत व्यवहारबारे इन्स्टाग्राममै भिडियो राख्दै आएकी उनले मंगलबार आफूलाई धेरै यूट्युबरले अन्तर्वार्ताका लागि आग्रह गरेको तर आफू अन्तर्वार्ता दिन तयार नरहेको बताइन्।
पहिलो भिडियोमा उनले निर्माता र निर्देशकले कसरी कलाकारको अपमान गर्छन् भनेर बोलेकी थिइन्। त्यसको प्रत्युत्तर दिँदै अभिनेता तथा चलचित्र निर्माता भुवन केसीले फेसकबुकमा स्टाटस राखेपछि उनले दोस्रो भिडियो केसी लक्षित राखेकी थिइन्। यी दुवै भिडियोपछि यूट्युबरको सर्वाधिक खोजीमा परेकी उनले यूट्युबर लक्षितै भिडियो सन्देश राख्दै भनिन्‚ 'मेरो अन्तर्वार्ता लिएर मलाई नै बदनाम गराएर पैसा कमाउने यूट्युबरहरुलाई म इन्टरभ्यु दिन्न।'
बढी भ्युजका लागि बोलेको भन्दा फरक हेडलाइन बनाएर आफ्नो बेइज्जत गरेको र फेरि बेइज्जत हुनका लागि आफू अन्तरवार्ता नदिने उनले बताएकी छन्। आफूलाई बेइज्जत गराएर युट्युब पत्रकारले पैसा कमाएको उनले आरोप लगाएकी छन्। युट्युबको हेडलाइन देखेर आफ्नो टाउको दुख्ने र औषधी नै खानुपर्ने हुने गरेको उनले बताइन्।
'हामीलाई नराम्रो बनाएर पैसा कमाउने। बरु हामीलाई पनि पैसा देउ। लाइसेन्स छ की छैन थाहा छैन तर क्यामेरा र माइक बोक्या छ अन्तरवार्ता भन्या छ’ उनले भनेकी छन्।
उनले फिल्म प्रमोसनका बेला फिल्म निर्माता निर्देशकलाई युट्युबरसँग अन्तरवार्ता नदिऊँ बरु रेडियो टेलिभिजनमा दिनुपर्छ भन्दा नमानेको उनको आरोप छ। उनी भन्छिन्, ‘डाइरेक्टरले पैसा तिरेको छ अन्तरवार्ता दिनुपर्छ अरुभन्दा पनि भ्युज राम्रो छ भन्दै अन्तरवार्ताका लागि अगाडि सार्ने गरेको उनले खुलाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।