कैलाली– प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टराईले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन्। देशभर बालबालिका भर्ना अभियान चलिरहेको र केही नेताहरुले विभिन्न ठाउँमा विद्यार्थीलाई विद्यालयमा भर्ना गरेका खबर आइरहेका बेला मुख्यमन्त्री भट्टले भने आफ्नै छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका हुन्।
मुख्यमन्त्री भट्टले छोरीलाई पुष्पा भट्टलाई धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना गरेका हुन्। यसअघि पुष्पा डोटीको केआइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुगेका मुख्यमन्त्री भट्टले आज बिहान आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई पनि विद्यालयमा भर्ना गराएका हुन्।
उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। 'विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ र यसमा सबैको सहयोग आवश्यक छ,' छोरीलाई विद्यालय भर्ना गर्दै मुख्यमन्त्री भट्टले भने।
मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरु अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न आग्रह गरे।
देशभरि बैसाख २ बाट सुरु गरिएको विद्यालय भर्ना अभियान यस प्रदेशमा पनि जारी छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।