काठमाडौं-
यथा चित्तं तथा वाचो यथा वाचस्तथा क्रियाः
चित्ते वाचि क्रियायाञ्च साधूनामेकरूपता ।।
संस्कृतको यो श्लोकमा भनिए जस्तो राम्रा मानिसहरुको मनमा जे हुन्छ उनीहरु त्यही बोल्छन्। जे बोल्छन् त्यही गर्छन्। सज्जनहरु मन, वचन र कर्मले एकसमान हुन्छन्।
यसैले अहिले शान्तिपूर्ण विरोध प्रदर्शनमा लागिरहेका युवाहरु शान्तिपूर्ण हुने भनेको कस्तो हो भनेर देखाउँदै छन्। नबोलिकनै आवाज उचो बनाउँदै छन्। एकसमान प्रदर्शनमा छन्। यसले कहाँ पुर्याउँछ भन्ने थाहा छैन तर चुपचाप बोलिरहेका छन्। किनभने उनीहरुलाई थाहा छ बोल्नुपर्छ। गलत देखेपछि प्रश्न उठाउनै पर्छ।
गएको जेठको अन्तिम साता कोरोना महामारीविरुद्ध सरकारको काम गराइ र भ्रष्टाचारका विषयमा युवाहरु बालुवाटारमा शान्तिपूर्ण प्रदर्शनमा थिए। तीन दिनमा त्यस्तै प्रदर्शन बालुवाटारमा दुईपटक भयो।
उनीहरुले अब त अत्ति भयो, खर्च होइन उपलब्धी देखाउ, न पारदर्शिता न दुरदर्शिता सधैँ कस्तो लाचारिता? लाज लाग्दैन हिसाब खै? क्वारेन्टिन कि कालघर? जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर आवाज उठाइरहेका थिए।
बालुवाटारको प्रदर्शन उपत्यकाकै विभिन्न चोक हुँदै देशभर फैलिसकेको थियो। तर पनि सभ्य रुपमा शान्तिपूर्वक गरिएको प्रदर्शन शान्तिपूर्ण मात्र हुन सकेन। असभ्य नाराहरु छिरे, ढुँगा हान्ने अराजकता समेत पस्यो त्यसले जो चुपचाप आवाज उठाइरहेका थिए उनीहरुको मन कुँडियो।
शान्तिपूर्ण रुपमा नबोलिकन प्रदर्शन गरौँ भनेर लागिरहेका युवाहरु जम्मा भए। पाटन दरबार क्षेत्रमा चुपचाप बसेर प्रदर्शन गर्ने सल्लाह गरे। चुपचाप बसिरहँदा प्रदर्शनमा नै एक जनाले किताब निकालेर पढ्न थाले। जसले सोच आयो- पढेर बसेर पनि विरोध प्रदर्शन त हुन सक्छ।
यसरी जेठ अन्तिमबाट सुरु भएको पाटनको शान्तिपूर्ण विरोध प्रदर्शन मंगलबार दशौँ दिनमा छ। जसलाई उनीहरु ‘च्याप्टर टेन’ का रुपमा चिनाउँछन्। यो अध्याय कतिसम्म लम्बिन्छ उनीहरुलाई थाहा छैन। तर हरेक दिन झण्डै एक घन्टा पढेर बसेर गरिएको विरोध प्रदर्शनपछि उनीहरु मन शान्त भएरै घर जान सकेका छन्।
प्रदर्शन सकिएर घर पुग्दा उनीहरुमा घाउ चोट थकाइ हुँदैन, केही ज्ञान हुन्छ। पढेर विरोधमा बस्दा मनमा आनन्द पनि लाग्छ। यसको अर्को पाइला भनेको उनीहरु केही खोजी गरिरहेका छन्। जुन एउटा प्रयोग हो।
किनभने युवाहरुले बुझेका छन्- तपाइँलाई केही कुरा कसरी गर्ने भन्ने थाहा छैन भने पढ्नुहोस् त्यो नै तपाइँका लागि उचित मार्ग हुन सक्छ। पढेर केही बुझिएको छ र सँगै उठिरहेको छ आवाज उठाउनुपर्छ भन्ने आवाज। साच्चिकै शान्तिपूर्ण रुपमा।
उनीहरु यस्तो प्रदर्शनमा किन छन् त? प्रदर्शनमा लगातार सहभागी भइरहेकी प्रज्ञा बज्राचार्य भन्छिन्- ‘विरोध प्रदर्शन हाम्रो अभिव्यक्ति हो। प्रहरीलाई ढुँगा हान्ने, नराम्रो संकेतहरु देखाउने, नराम्रा शब्दहरु लेखिएका प्ले कार्ड देखाउने कुराहरु नराम्रो लाग्यो। युवाको तस्बिर त्यसरी जाओस् भन्ने त हाम्रो सोच हुँदै होइन। विरोधको शैलीमा पनि केही परिवर्तन होस् भनेर हामीले सोचेका हौँ।’
अहिले सोचहरु फेरिएका छन्। झोला बोक्ने र जिन्दाबादमा जिन्दाबाद, मुर्दाबादमा मुर्दाबादको आवाज मिसाउने युवा पुस्ता मात्र छैनन्। आफूले नेता मानेकाको हरेक कमजोरी ढाकछोप गर्नुपर्छ भन्ने मात्रलाई युवाको प्रतिनिधि देख्नु मूर्खता हुन सक्छ। सहि र गलतको सोचलाई आवाज बनाउन सक्ने युवाहरु पनि छन्। जो गलत देख्दा प्रश्न गर्न डराउँदैनन्।
यो पुस्ताको आवाज सत्ताले बुझेको छैन। बुझेको जस्तो गरेको पनि छैन। सत्ताका कामदारहरु उनीहरुलाई विभिन्न लान्छना लगाइरहेकै छन्। तर प्रश्न उठाउन सक्ने यो पुस्ताको हिम्मतलाई गलत भनेर दुत्कार्नेभन्दा बुझ्ने साहस गर्नु नै बुद्धिमानि होला। किनभने उनीहरु कसैको उक्साहटमा पार्टीको झन्डामुनि छैनन्। आफ्नो विवेकको मार्गमा छन्। जब विवेक र ज्ञान बोल्छ तब ठूला चतुरहरु पनि मूर्ख देखिन समय लाग्दैन।
झण्डै एक दशकदेखि यस्तै शान्तिपूर्ण असल नियतले गरिएका प्रदर्शनहरुमा सहभागी भइरहेका कलाकार मिलन राई यसलाई सुरुवात मान्छन्। उनी भन्छन्- ‘धेरैले सोध्नुहुन्छ एजेन्डा के हो? बोल के हो? त्यो चाहिँ के हो भने, कुनै पनि कुरामा जानुभन्दा पहिले संयमता अपनाउनु पर्यो, त्यो शान्ति आफैभित्र ल्याउनुपर्यो, किन जाँदैछु भन्ने थाहा पाउनु पर्यो। सबै कुरामा विज्ञ हुन जरुरी छैन सामान्य ज्ञानको प्रयोग गर्न जान्नुपर्यो। त्यसका लागि हामी यहाँ छौँ।’
पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेका मजाकमा मजाक उडाउनेले आफै मूर्ख बनिरहेको भनेर नबुझेको जस्तो मिलनलाई लाग्छ। ‘यो प्रदर्शनको मतलब पनि सबै जना एकैपटक परिवर्तन हुन्छन् भन्ने होइन, एक एक जना गर्दै परिवर्तन भए भने पनि त्यो ठूलो महत्वको हुन जान्छ। समाज विस्तारै विकास हुँदै जान्छ। प्रधानमन्त्रीले उखान टुक्का र संवेदनहीन भएर गरेको कुरामा हामी हाँस्छौँ र उडाउँछौँ भने हामी पनि कम छैनौँ भन्ने देखिन्छ।’
उपत्यकामा पछिल्लो केही दिन बेलुका नियमित वर्षा भइरहेको छ। चिसो साँझमा उनीहरु पाटनका सम्पदा पेटीमा बसेर पुस्तक पढिरहेका देखिन्छन्। उनीहरु किन त्यहाँ त्यसरी पढिरहेका छन् भनेर केहीले प्रश्न पनि गर्छन्। थाहा पाएपछि केहीले मूर्खको संज्ञा दिन्छन्, समय बिताउने मेसोका रुपमा लिन्छन्, केही उनीसँगै थपिन्छन्। जसले जे जस्तो भने पनि उनीहरुलाई यत्ति थाहा छ- विरोध प्रदर्शन गर्ने यो शैली ठीक छ।
०००
प्रदर्शनमा सहभागी भइरहेका केहीको प्रतिनिधि आवाजलाई सुनौँ। जसले सुन्नेहरु पनि सोचमग्न हुन बाध्य हुनेछन्। आखिर यसरी पनि त हुन सक्छ आन्दोलन-
प्रज्ञा बज्राचार्य -
हिंसात्मक आन्दोलन नभइ परिवर्तन नै हुँदैन भन्ने सोच बढिरहेको थियो। विरोध प्रदर्शन गर्न पाउनु हाम्रो अधिकार हो। त्यसको स्वरुप हिंसात्मक नै हुनुपर्छ भन्ने छैन।
प्रहरीलाई ढुँगा हान्ने, नराम्रो संकेतहरु देखाउने, नराम्रा शब्दहरु लेखिएका प्ले कार्ड देखाउने कुराहरु नराम्रो लाग्यो। जस्तो कि प्रधानमन्त्रीको तर्फबाट राम्रो कामहरु भइरहेको छैन तर त्यसको मतलब खराब शैलीमा विरोध गर्नुपर्छ भन्ने त होइन नि। उहाँले राम्रो काम पनि त गर्नुभएको छ।
हाम्रो माग निकै सामान्य हो। संकटमा नागरिकको अधिकार सुरक्षित होस् भन्ने त हो। त्यसका लागि बालुवाटारमा भएका प्रदर्शनमा ढुँगा फाल्ने मनपरि बोल्ने पनि देखियो, युवाको तस्बिर त्यसरी जाओस् भन्ने त हाम्रो सोच हुँदै होइन। हामी त पढेर बुझेको मान्छेहरु हो। पुस्ता फरक छ। अब हाम्रो पालोदेखि विरोधको शैलीमा पनि केही परिवर्तन होस् भनेर हामीले सोचेका हौँ।
यस्तो कामलाई नराम्रो भन्नेहरु पनि छन्। यस्तो गरेर कसले सुन्छ र भनिरहेका छन्। तर त्यसले हामीलाई फरक पार्दैन। हामी यहाँ कसैलाई मनोरञ्जन दिन बसिरहेका छैनौँ। आफ्नो आवाज उठाइरहेका हौँ। आवाज नभएकाहरुको आवाज उठाइरहेका छौँ। हामी निरन्तर प्रदर्शनमा छौँ। यो विरोध प्रदर्शन मात्र पनि होइन। विरोध प्रदर्शन कसरी गर्न सकिन्छ भन्ने उदाहरण पनि हो।
अभिषेक राज सिंह थापा -
हामीलाई के लाग्छ भने मान्छेमा कस्तो किसिमको विचार छ र त्यो विचार कसरी उजागर गर्छ भन्ने उसको क्रियाकलापबाट देखिन्छ। यो हाम्रो सोच र त्यही सोचलाई प्रस्तुत गरेका हौँ। म कुन दिशातिर जाँदै छु भन्ने सोच हरेकमा होस् भनेर हामीले यो प्रयोग गरिरहेका छौँ।
हामीले विरोध प्रदर्शन यसरी पनि गर्न मिल्छ भनेर देखाउन पनि चाहेका हौँ। पाँच जनाबाट सुरु भएको हाम्रो विरोधमा ३० जनासम्म जम्मा भयौँ। अहिले पनि मानिसहरु थपिने क्रम जारी छ। हामीले यसमा कसैलाई पनि जबर्जस्ती गरेका छैनौँ। दिनको एक घण्टा यहाँ विरोध प्रदर्शन पनि भयो र केही पढेर बुझ्ने अवसर पनि भयो। हामीलाई प्रहरीले प्रश्न गर्नुभन्दा पहिले उहाँहरु आफै सोच्न बाध्य हुनुहुन्छ। आखिर असल पुस्तक पढ्ने मान्छे खराब हुँदैन।
मलाई के लाग्छ भने पहिले ढुँगा मुढा गरेर भाषण गरेर टायर बालेर हुने प्रदर्शन पनि त्यो बेलाका लागि ठिकै थियो होला तर अहिले त समय फेरिएको छ। त्यो समयको कुरालाई अहिले जोडेर हेर्नु मिल्दैन। समय अनुसार परिवर्तन हुनै पर्छ।
अहिले अत्ति भयो भनेर उठेको शान्त प्रदर्शनमा हिंशा कसरी पस्यो त। त्यस्तो हुनु राम्रो होइन। सबैको त आवाज अगाडि ल्याउने सामथ्र्य पनि हुँदैन त्यसका लागि कोही बोल्न अघि सर्नुपर्छ। ढिलो चाँडो हो तर आवाज त पुग्छ नै। हामीसँग केही कुराको स्वार्थ छैन स्वार्थ नभएपछि त्यसको फल त अवश्य पनि पाइन्छ।
सुगम नन्द बज्राचार्य -
नेपाली युवाहरुमा देशको लागि केही गर्नुपर्छ भन्ने इच्छा छ नै, जहाँ सरकारमा भने वृद्धहरुको हालिमुहाली छ। हामी राजनीतिबाट टाढा नै बसिरहेका थियौँ तर अब अत्ति भयो भनेर हामीले आवाज उठाउनुपर्छ भन्ने लाग्यो। सिधै राजनीतिमा नलागे पनि नेपाली नागरिक भएका नाताले केही जिम्मेवारीपूर्ण आवाज त उठाउनुपर्छ भन्ने लागेर हो।
सरकारलाई हामीले हेरिरहेका छौँ है भनेर खबरदारी गर्नुपर्छ भन्ने लाग्यो। अहिले युवाहरुले राम्रो नराम्रो छुट्याउन सक्छन् भनेर सरकारले बुझोस् भन्ने लाग्छ। यसअघि नेपालमा भएका विरोध प्रदर्शनहरु विशेष गरी राजनीतिक पार्टीमार्फत नै भएको देखिन्थ्यो। तर यो कुनै राजनीति सम्बद्ध विरोध प्रदर्शन होइन। राजनीतिमा इच्छा नभएका तर आवाज उठाउनुपर्छ भन्ने युवाहरु नै यहाँ छौँ।
सामाजिक सञ्जालमा यो प्रदर्शनको विरोध भइरहेको पनि देखिन्छ। यसरी सरकारले सुन्दैन समयको खर्च मात्र हो भनिरहेका हुन्छन् तर त्यसरी भनेर पनि भएन। आफ्नो ठाउँबाट सबैले केही त गर्नुपर्यो नि। सामाजिक सञ्जालमा क्रिया प्रतिक्रियाको लडाइँ मात्र गरिरहने कि त्यहाँबाट बाहिर पनि आउने त?
हामीले आवाज उठाउन गरेको काम चित्त नबुझे तपाइँहरुलाई राम्रो लागेको अरु तरिका पनि हुन सक्छन् तर नराम्रो भएको देख्दा आवाज त उठाउनै पर्छ नि होइन र? यो हाम्रो प्रदर्शन जरा गाडिरहेको हो, रुख बन्छ नै। यसले अरु युवालाई पनि सोच्न बाध्य पारोस्। यो एक दुई हप्तामा सकिने विरोध प्रदर्शन पनि होइन। यो सुरुवात हो।
मिलन राई -
बालुवाटारमा जुन प्रदर्शन भयो त्यो शान्तिपूर्ण प्रदर्शन भनिएको थियो। शान्तिपूर्ण प्रदर्शन शान्तिपूर्ण रुपमा नै अन्त्य हुनुपर्छ भन्ने हामीलाई लाग्छ। शान्तिपूर्ण प्रदर्शन नाममा मात्रै रह्यो भने त्यो दुःखद हुन्छ।
त्यो प्रदर्शनमा हाम्रो पक्षबाट पनि केही कमिकमजोरी भयो। हामी मानसिक, सामाजिक, राजनीतिक, आत्मिक रुपमा सबै कुराबाट सचेत र तयार हुनुपर्छ भन्ने लाग्छ तर त्यहाँ हामी भावनात्मक र आक्रामक मात्र देखियौँ। जसले गर्दा कुनै पनि प्रदर्शनको आवाजहरु अलमलियो। त्यहाँ कहाँ गल्ती भयो भनेर कुराकानी गर्न बस्दा नै यो नयाँ प्रदर्शनको जन्म भएको हो।
कुनै फेसबुक पेज नबनऔँ, कसैलाई नबोलाऔँ हामी आफैबाट गरौँ भनेर सुरु गरिएको हो। अरु मानिसहरुको अरु आइडिया हुन सक्छ। नयाँ कुराहरु साटफेर हुन सक्छ। एक दिन गएर हुर्र हजार जना जम्मा हुनुभन्दा निरन्तर रुपमा मानिसहरु सहभागी भइरहनु ठूलो विषय हो भन्ने लाग्छ।
ढुँगा मुडा गरेर नै आन्दोलन गर्ने भनेको जंगली स्वभाव जस्तो देखिन्छ त्यसको पनि अन्त्य हुने त संवादबाट नै हो। अहिले त संवादका लागि सरकार सिरियस पनि देखिँदैन। विषयको गहनता प्रधानमन्त्रीमा पनि देखिँदैन। कुराहरुलाई उडाइदिने, मजाक बनाइदिने वातावरणमा संवाद पनि कसरी गर्न सकिन्छ र?
प्रधानमन्त्रीले उखान टुक्का र संवेदनहीन भएर गरेको कुरामा हामी हाँस्छौँ र उडाउँछौँ भने हामी पनि कम छैनौँ भन्ने देखिन्छ। हामी त त्यतिबेला झनै आलोचनात्क दृष्टिले बढ्न सक्नुपर्छ। हामी प्रधानमन्त्रीलाई उडाउनतिर लाग्यौँ भने त हामी पनि सुधार भएनौँ नि। केही माग्नुअघि माग्ने तरिका राम्रो हुनुपर्छ। यो हुर्र बल्ने आगो होइन, विस्तारै बढ्दै जानेछ।
०००
शान्तिपूर्ण प्रदर्शन भड्किँदा शारीरिक रुपमा लाग्ने चोटभन्दा ठूलो असर मानसिक रुपमा परिरहेको हुन्छ। घर गएर फेरि अर्कोपटक प्रदर्शनमा सहभागी हुन सकेन भने त चित्त दुख्छ नै। राम्रो कुरा उठाउँदा राज्यको गलत व्यवहारले त मन पनि मर्छ।
उनीहरुको सोच यस्तो छ- प्रदर्शन यस्तो होस् कि जहाँ भिड नियन्त्रण गर्न खटिएका प्रहरीले डन्ठा र हेल्मेट भुँइमा राख्न सक्ने स्थिति बनोस्। मानिसहरु शान्त हुन सकुन्। थप केही बुझ्न सकुन्। सुन्नेहरुले आवाज सुनुन्। गलत गरिरहेकाहरु सुध्रिउन्।
भिडियोमा हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।