काठमाडौं- सहज बाटाहरु घुमाएर, उबडखाबड बनाएर, बंग्याएर, आरोप लगाएर प्रश्नहरु रोकिएलान् त? परिवर्तन र संघर्षका लामा भाषणहरु सुनेर ताली मात्र बजाइरहने नागरिक होऊन् भनेर ल्याइएको हो यो व्यवस्था? बोल्न बन्देज गणतन्त्र हो र?
सरकार काम राम्ररी गर, पारदर्शी होऊ भनेर आवाज उठाउन, प्रश्न गर्न, जवाफ माग्न अहिलेको पुस्ता कतैबाट परिचालित हुनु पर्ला? शनिबार माइतिघरमा उठेका आवाज र प्रश्नहरु सुन्दा उनीहरुको सचेत र सभ्य आग्रहले सोच्न बाध्य बनाउँछ- उनीहरुलाई परिचालित भनिनु सचेत पुस्ताविरुद्धको अपमान हो।
कोरोना भाइरस (कोभिड १९) का कारण सिर्जित परिस्थितिमा सरकारले राम्ररी काम गर्न नसकेका उदाहरण हजार छन्। उनीहरुले ती काम राम्ररी गर भनेका हुन्। यो महामारीमा पनि भ्रष्टाचारका घृणित खेल छन्, त्यो बन्द गर भनेका हुन्।
असल मनशायले उठाइएका यी आवाजलाई चाकडीको नमस्कारसँग दाँजेर हेर्दा खल्लो लाग्न सक्छ। चुप लागेर बसिदिने, सहिदिने, बिर्सिदिने जमातमा उनीहरु अराजक लाग्न सक्छन्। रक्सीको उधारोले आजित भएर पत्रिकामा पोखिएका लेखभन्दा कता हो कता वजनदार छ उनीहरुको आवाज।
अहिले जोखिमको अवस्थामा भीडभाड गर्नु स्वास्थ्यका हिसाबले हानिकार छ नै। तर त्योभन्दा, खराब अवस्थाविरुद्ध उनीहरुको आवाज यही समय आउनैपर्ने पो आवाज हो कि! बोल्न त घरै बसेर पनि मिल्छ। तर, सुन्नेको कान सडकसम्म त पुगेको छैन, घरसम्म पुग्ला?
माइतिघरमा शनिबार बिहान जम्मा भएका युवाहरुले कोरोनाको जोखिम बुझेरै सकेसम्म सुरक्षित भएर प्रश्न गरे। शारीरिक दुरी बनाएर लाइनमा बसे। स्मार्ट शौचालयको उद्घाटनमा गएका नेता जस्तो एकअर्कामा घेरिएनन्। सचेत छौं भनेर देखाए। भीडभित्र कोही ‘अन्यायी’ नपसिदिने हो भने सभ्य रुपमा प्रश्न सोध्नेबाहेक अर्को ध्येय छैन भन्ने देखाए। उनीहरुले प्रहरीलाई ढुँगा हानेनन्, फूल दिए।
प्ले कार्डमा लेखिएका नाराहरु देखाए। जहाँ सरकारलाई घचघच्याउने बाहेक अरु विषय थिएनन्। ‘अब त अत्ति भयो’ भन्ने उनीहरुको आवाज माइतिघरले अहिलेसम्म देखेको सभ्य प्रदर्शन हुनुपर्छ। यो उनीहरुको विद्रोह होइन, आग्रह हो। सरकारप्रतिको असन्तुष्टी सरकारको कामलाई लिएर हो, अनुहार हेरेर होइन।
गएको मंगलबार बालुवाटारमा प्रदर्शन गरेर सुरु भएको व्यवस्थित क्वारेन्टाइन, शतप्रतिशत पिसिआर टेस्ट, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, खर्च पारदर्शी हुनुपर्ने लगायत माग उनीहरुले शनिबार माइतिघरमा पनि राखे।
कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत भूभाग नक्सामा समेट्न आज नै संसदमा संविधान संशोधन हुने भएकाले माइतिघरको प्रदर्शनलाई राष्ट्रवादसँग जोडेर विरोध भइरहेको थियो। तर, प्रदर्शनकारीहरुले कोरोना जोखिममा राम्ररी काम गर्नुपर्ने बाहेकका माग राखेका थिएनन्। उनीहरुले नयाँ नक्साको स्वागत गरिएको ब्यानरहरु पनि बोकेका थिए।
पछिल्लो समय हरेक विषय राष्ट्रवादसँग जोड्दै को देशद्रोही र को राष्ट्रवादी भनेर छाप लगाउन तँछाडमछाड गरिरहेकाले बुझ्नुपर्छ देशको माया गर्नु र सत्ताको नाकामीमा प्रश्न सोध्नु फरक विषय हुन्। आवाजदेखि डराउने शासक, प्रश्न वर्जित समाज कम्तिमा अहिलेलाई त सुहाउँदैन। किनभने उनीहरुले बुझेका छन्- राष्ट्रवाद र देशभक्ति।
सत्तालाई लागेको हुनुपर्छ प्रश्न वर्जित यो समयमा सडकमा आएर प्रश्न गर्ने को हुन् उनीहरु? उनीहरुको भीडमा कोही खेल्लान् भनेर डराउने हो भने पछाडि फर्केर परिवर्तनका बाटाहरु हेर्ने हो कि? यदि उनीहरु भड्किए र सभ्य प्रश्नको जमातमा कोही असभ्य पस्यो भने त्यो दोष उनीहरुको कि सरकारको?
उनीहरुको आवाज छ- ‘हामीले केही नौलो गरेका होइनौँ, बस संविधानले दिएको हक र अधिकारको प्रयोग गरेर सरकारको साथ दिइरहेका हौँ। तर सरकार काम राम्रो गर। गल्ती र लापरबाहीमा प्रश्न सोध्न, खबरदारी गर्न त पाइन्छ नि?’
बिहान माइतिघर निस्कने हरेक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनमा जानेहरुलाई प्रहरीले रोकिरहेका थिए। बिहान प्रदर्शन सुरु हुने बेलामा माइतिघरबाट नै केही प्रदर्शनकारी पक्राउसमेत परे।
माइतिघर पुग्ने बाटोमा पैदलयात्रुसहित सवारीसाधनमा रहेकालाई सोधपुछ र खानतलासी गरिएको थियो। जोखिमका बेला भीडभाड नहोस् भनेर प्रहरीले उच्च सतर्कता अपनाएको थियो। मुस्किल अवस्थाबाट माइतिघरमा पुगेका प्रदर्शनकारीले शारीरिक दूरी बनाएर सुरक्षित रुपमा नै सरकारलाई प्रश्न राखे।
सामाजिक सञ्जालका भित्ताहरुमा आरोप र शंकाका लामा ब्याख्याहरु देखिन्छन्। ती आरोप र शंकामा लाग्नु र सरकार आफैँले ‘कोरोनामा राजनीति मिसियो’ भन्नु आफ्नै नालायकी होइन र? लामो बोल्नेहरुले सुन्ने शक्ति पनि बटुल्नैपर्छ। गलत कुरा आफैले सुधार गर्नुपर्नेमा कसैले सुधार गर भनिदिनु भुल होला र?
केही दिन यता देशभर यस्तै प्रदर्शनहरु बढ्दै जाँदा प्रश्न बनेको विषय छ- उनीहरु को हुन्?
जवाफका लागि हजार तर्क, लान्छना, अपमान, आरोप प्रत्यारोप केही आवश्यक छैनन्। उत्तर सहज के हो भने उनीहरु गलतलाई गलत भन्न सक्ने नागरिक हुन्। अवसर या बाध्यताले विदेश पलाएन भएनन् भने रुख, घाम, तराजु या गाईको चिन्ह मात्र हेरेर भोट नहाल्ने पुस्ता हुन्।
शनिबार माइतिघरमा सरकारलाई प्रश्न गर्न प्रदर्शनमा आएका केही प्रतिनिधि आवाजहरु हेर्ने हो भने भविष्यको सचेतता देखेर खुसी पनि लाग्नेछ। सेतो र कालोको परिधिभन्दा बाहिर पनि रंगहरु हुन्छन् भन्ने देखेर गर्व महशुस हुन्छ।
केही बोलीहरु हेरौँ,
क्षेत्रपाटीबाट प्रदर्शनमा सहभागी भएकी लक्ष्मी महर्जन- ‘सरकारले कोरोना माहामारीमा १० अर्ब खर्च भयो भनेको छ तर त्यो पैसा कसरी केमा खर्च भयो भन्ने हिसाब देखाइदिनुपर्यो। पारदर्शीता हुनुपर्यो। क्वारेन्टाइन भएको छैन, पिसिआर परीक्षण हुनुपर्ने जस्तो छैन। पहिलो काम त कोरोना महामारीको समाधान हुनुपर्यो। परीक्षण नै कति भयो र? यहाँ प्रदर्शन हुँदैछ आन्दोलन हुँदैछ भन्ने चाहिँ सामाजिक सञ्जालबाट थाहा पाएँ। यसअघि यस्तो खाले प्रदर्शनमा सहभागी भएको पनि थिइनँ। यदि सरकारलाई घचघच्याउँदा केही राम्रो भयो भने त्यो मेरा लागि मात्र त होइन। हामी सबैका लागि हो।’
मैनमैजुदेखि आएकी स्वर्णिमा केसी - ‘हिँड्दै विस्तारै यहाँसम्म आएको। देशमा अहिले जे स्थिति चलिरहेको छ त्यसले गर्दा यस्तो प्रदर्शनमा पहिलोपटक सहभागी भएँ। कोरोनाको यस्तो महामारीमा छम् तर जसरी सरकारले काम गर्नुपर्ने हो त्यसरी गरेको छैन। भ्रष्टाचार भइरहेको छ, त्यसका विरुद्ध आवाज उठाउनुपर्छ भनेर आएको हो। आजको जमानामा सामाजिक सञ्जालदेखि समाचार सबैको हातहातमा छ, हाम्रो हातमा नै हरेक सूचना छ, हामी जस्तो युवाले आवाज उठाएनौँ भने कसले उठाउने? जनताको कमजोरीलाई सरकारले आफ्नो बल बनाउनु भएन। हामीलाई गाह्रो भइरहेको बेलामा बजेट कहाँ गइरहेको छ? क्वारेन्टाइनको नाममा हजारौँ मान्छे एक ठाउँमा राखेर के गर्न खोजिएको हो। राम्रो काम होस् भन्ने यो आग्रह हा, विद्रोह होइन।’
क्यामराअघि बोल्न समेत अप्ठ्यारो मान्दै यसस्वी भन्छिन्- ‘सामाजिक सञ्जालबाट प्रदर्शनको बारे थाहा पाएँ। यो माहामारीको समयमा हुनुपर्ने जस्तो काम होस्, भ्रष्टाचार नहोस्।’
अहिले राधेराधेमा बस्ने झापाका विज्ञान दुलाल- ‘यहाँ आउने हामी कसैको पनि रहर त होइन। हाम्रो सरकारले बच्चाबच्चीले लास्ट मिनेटमा प्रिजेन्टेसन बनाएको जस्तो काम गरिरहेको छ। राम्ररी परीक्षण गर्ने काम भएको छैन। तीन महिनाको लकडाउनमा के भयो त? दुःख परेपछि मानिस सडकमा आउन थालिहाले। यस्तो खाले प्रदर्शनमा पहिलोपटक आएको हो। हजारौँ जना जम्मा हुनुभन्दा आवाज हुनु चाहिँ ठूलो कुरा हो।’
अनामनगरबाट ब्रजेश - ‘हामीलाई मूर्ख ठानेर सरकारले गरेको कामको विरोधमा म यहाँ छु। के भइरहेको छ भन्ने सबैलाई थाहा छ, मैले विस्तृतमा भन्नु पनि पर्दैन। हामीले यत्रो समय हेरेर बसेका त हौं तर अहिले आएर उठेको आवाज पनि दबाउन खोजिएको छ। के हामी मूर्ख हो र? सरकारका लागि हामी त छैनौं जस्तो लाग्छ। यो देश हाम्रो होइन? लिपुलेक र सरिता गिरीमा अल्झेर बसिरहने हो र? यो पाली ननिस्किम भनेर सोचेको, यो जोखिम पनि हो तर मलाई सरकारमा भन्दा बढी विश्वास हामीमा छ। हामी शारीरिक दूरी बनाएर राम्ररी प्रदर्शन गर्छौं भन्ने विश्वास मलाई छ र यहाँ आएँ।’
कपनबाट सञ्जय तामाङ - ‘यो हाम्रो देशमा धेरै कुरा खत्तम भइसकेको छ। सरकार होइन तरिका ठीक छैन। हामीले चुनेर पठाएको सरकार हो, त्यसैले सरकार होइन तरिका बदल्नुपर्यो भन्ने हो। सरकारले गरेको काम चित्त बुझेको छैन। चित्त बुझेको भए हामी किन यहाँ आउथ्यौँ र? आरडिटी बन्द गरेर शतप्रतिशत पिसिआर परीक्षणमा जाने निर्णय त गर्न सकेको छैन।’
सोनी तन्डुकार- ‘यो प्रदर्शन चाहिँ शतप्रशित पिसिआर परीक्षण होस्, सुरक्षित क्वारेन्टाइन होस्, भएको भनिएको खर्च कहाँ भयो भन्ने यकिन होस् भनेर हो। हुनुपर्ने तयारी नहुँदा दुःख लाग्छ। यो समय धेरै कुरा गर्न सकिन्थ्यो। पैसा पनि थियो। तर तयारी केही भएको देखिएन। सरकार चुकेको छ। त्यसैले यो शान्तिपूर्ण प्रदर्शन गरिरहेका छौँ।’
ठमेलमा पर्यटन व्यवसायमा सम्बन्धित सुरेन्द्र गुरुङ - ‘जनताले सरकारलाई साथ दिएको हो तर ढिलासुस्ती साह्रै भयो। सकेसम्म चाडो पिसिआर परीक्षण मात्र होस्, आरडिटी खारेज होस् भनेर सरकारलाई सचेत गराउन यहाँ आएका हौँ। हिसाबकिताबमा पारदर्शिता हुनुपर्यो। यो सबै कुरा ठप्प भएको अवस्थामा विस्तारै जीवन सामान्य रुपमा फर्काउनुपर्यो। यत्तिका दिन हामी चुप लागेर नै सरकारले मनपरी गरेको हो।’
यातुना बज्राचार्य - ‘व्यवस्थापन र सरकारको काम राम्रो हुनुपर्यो। खाली बोलेर मात्र भएन। असाध्यै नराम्रो कामहरु भइरहेको छ। क्वारेन्टाइन राम्रो छैन, अलिकति व्यवस्थित क्वारेन्टाइन भएको भए त्यहाँबाट को भाग्थ्यो होला र?’
बास्केटबल खेलाडी नोर्बु गुरुङ - ‘देशमा परिवर्तन हुनुपर्यो, यो स्थितिले त हुँदैन। समस्याहरु धेरै भए। पैसा कहाँ गयो? हामीले शान्तिपूर्ण रुपमा प्रश्न उठाउन मात्र आएको हो। गणतन्त्रमा प्रश्न पनि उठाउन नपाए त यो सबैको के अर्थ र हामीले सानोदेखि पढेको के अर्थ र?’
नेपालमा बास्केटबल लिगका आयोजकसमेत रहेका नमित थापा- ‘न कुनै पार्टीले हो न कुनै संस्थाले हो, यसरी युवाहरु आफै मिलेर प्रश्न गर्ने काममा समर्थन गर्न म यहाँ आएको हो। प्रश्न उठाउने, नराम्रो कामको विरुद्ध बोल्ने त असाध्यै महत्वपूर्ण हुन्छ। यो आवाज यहाँ आउनेले आफ्नो लागि मात्र उठाएका होइनन्।’
भिडियोमा हेर्नुहोस् यी आवाज
यी ११ आवाजहरु माइतिघरमा जम्मा भएका सबैको जस्तै हो। कोरोनाको जोखिममा सरकार भ्रष्टाचारमा लाग्नु हुँदैन थियो, राम्ररी काम हुनुपर्यो भनेर उनीहरुले सरकारको विरोध गरेका होइनन्। सम्झाएका हुन्। त्यसैले यो जमातमा कसैले सत्ता परिवर्तनको होलीमा रमाउन या कसैले देशविरुद्धको आवाज बनाउन जरुरी छैन।
पछिल्ला दिनहरुमा स्वतस्फूर्त रुपमा भइरहेका प्रदर्शनलाई विचार गरिरहेका त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभाग प्रमुख प्राध्यापक डम्बर चेम्जोङ यो आकस्मिकता भएको बताउँछन्।
‘यो भयङ्कर, बनिबनाउ, योजनाबद्ध रुपमा पतिपक्षले आयोजना गरेको आन्दोलन होइन। नयाँ पुस्ताको अनिश्चितता र आशंकाको परिणाम हो, क्रमभङ्गता हो’, उनी भन्छन्, ‘देश विदेश बुझेको यो पुस्तालाई कोरोनाको औषधी बेसार र अदुवा हो भनिदिँदा सुनेर मात्र बस्छन् त? १० अर्ब अदुवामै सकियो कि भनेर प्रश्न त गर्छन नै। उनीहरुको प्रदर्शन विद्रोही बन्न वा पार्टी खोल्न होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।