काठमाडौं- केही सपना पूरा हुँदै थियो। केही सपना अधुरै छोडेर अघि बढ्दै थिइन्। उनलाई यस्तै लाग्दै थियो, छोडिएका पाइलाका डोपहरुले नसरापुन्। नजिस्काउन्। उनी थिइन् निष्मा श्रेष्ठ।
निष्मा जति मेहनती हुन्, भाग्यमानी खेलाडी पनि। जो निरन्तर साइक्लिङलाई नै आफ्नो करियर मानेर अघि बढिरहिन्। हरेक कठिन परिस्थितिसँग जुध्दै, गुज्रिदै एउटा गन्तब्यसम्म पुग्न सफल भइन्। नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले साइक्लिङमा ऐतिहासिक ४ स्वर्ण पदक जित्दा एउटा स्वर्णमा निष्मा श्रेष्ठको नाम थियो।
साइकल कुदाउने मोहले साइक्लिङमा जोडिएकी निष्माका लागि १३औं साग निकै स्मरणीय रह्यो र उपलब्धिमूलक पनि। भविष्य खेर फालिस्, साइक्लिङमा लागेर के हुन्छ? भन्नेहरुको मुख पनि उनले टालिन्। हुन त नेपालमा साइक्लिङ खेलको अहिले पनि राम्रो माहोल त छैन। व्यवसायिकताको त अझ कुरै छोडौं।
उनै निष्मा श्रेष्ठसँग खेल जीवनका संघर्षसँग सम्बन्धित रहेर गरिएको कुराकानी-
आरामै हुनुहुन्छ? दिनहरु कसरी बित्दै छ?
आरामै छु। बिहान एकदेखि ढेड घण्टा जति अभ्यास गर्छु। करिब ८-९ किलोमिटर जति साइकल कुदाउँछु होला। अरु त खासै केही हुँदैन। नजिकैका छिमेकी भाइभहिनीहरुलाई पनि सिकाउँछु।
पहिले अभ्यास गरिराख्थ्यौं। १३औं सागकै लागि हामीले निकै मेहेनत गरेका थियौं। त्यही भएर पनि राम्रो भइरहेको थियो। अहिले यो लकडाउनले गर्दा साइकल लिएर बाहिर जान पनि खासै पाहिएन। त्यसैले अल्छिपना हुँदो रहेछ। पहिले दिनभरी लामो दूरीसम्म गइन्थ्यो। अहिले त्यस्तो छैन।
नेपालमा साइक्लिङ खेलले अहिले पनि व्यवसायिकता पाएको छैन। यसअघिका दिनहरुमा त झनै कठिन परिस्थिति थियो। तपाईंलाई साइक्लिङ खेलले नै कसरी तान्यो?
म भर्खर साइकल चलाएर हिँड्न थाल्ने भएको थिएँ। मेरो मामा पहिलेदेखि नै साइकल चलाउनु हुन्थ्यो। साइकल पसलमै काम गर्नु हुन्थ्यो। मेरो बाबा पनि यही लाइनको हुनुहुन्थ्यो। साइकल रेसहरु गर्नु हुन्थ्यो।
म १२-१३ वर्षको हुँदा घरकै वरिपरि साइकल चलाइरहेको हुन्थेँ। साइकल चलाउँदै गर्दा प्रोफेसनल राइडर दाइहरुसँग भेट भयो। उहाँहरुले मलाई धेरै हौसला बढाउने गर्नुहुन्थ्यो। साइक्लिङ गरिराखे पछि धेरै राम्रो हुन्छ भन्ने गर्नुहुन्थ्यो।
उहाँहरुको कुराले मेरो मन छोयो। यहाँ केही हुन्छ भन्ने लाग्यो। खेल्दै गएँ। दाइहरुसँगै लामो लामो राइड गर्न थालेँ।
दाइहरुको हौसला पाएपछि साइक्लिङ गर्दै गर्दा नेपालमा पनि साइक्लिङ एशोसिएसन छ। यसले खेलाडीको लागि केही गर्छ भन्ने थाहा थियो?
नेपाल साइक्लिङ एशोसिएसनकै बारेमा चाहिँ थाहा थिएन। तर प्राइभेटतर्फबाट रेसहरु चाहिँ हुन्छ भन्ने सुनेको थिएँ। सन् २०१४ को अन्तिमतिर चाहिँ ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) ले ट्रायथलन भन्ने प्रतियोगिता गरेको थियो। त्यहाँ साइक्लिङ, रनिङ र र्याफ्टिङ थियो।
यो प्रतियोगितामा केटीहरुको समूह बनाएर सहभागिता भएको थिएँ। यहाँबाट चाहिँ मेरो रेसिङ करियर सुरु भयो भन्नु पर्छ। त्यसपछि सोलो रेस चाहिँ धरानबाट सुरु भयो।
साइक्लिङ एशोसिएसनले अहिलेसम्म के कस्ता कार्यक्रम तथा खेलाडीका लागि कस्ता व्यवस्था गर्दै आएको छ?
एशोसिएसनले हरेक वर्ष राष्ट्रिय च्याम्पियनसिप गराउने गरिरहेको छ। त्यसबाहेक नयाँ नयाँ कोर्ष बनाउँदै प्रतियोगिताहरु गराइ रहेको छ। अभ्यासको व्यवस्था गर्ने गर्दै आएको छ।
जति पनि प्रतियोगिता हुन्छ, त्यो सबैमा हामीले आफ्नो व्यक्तिगत साइकल प्रयोग गर्दै आएका छौं। एशोसिएसनले खाने बस्ने लगायतका व्यवस्था गरिदिन्छ तर आवश्यक सबै सामग्री आफैले जुटाउनु पर्छ।
तपाईंले प्रयोग गरिरहनु भएको साइकलको मूल्य चाहिँ कति पर्छ?
मैले कुदाउँदै गरेको साइकलको सेकेण्ड हेन्ड हो। मैले ३ लाख ५० हजार रुपैयाँमा सेकेण्ड हेन्ड साइकल किनेको हो। योभन्दा अगाडि मैलै अर्कै साइकल चलाउँथे। त्यो चाहिँ फिलिपिन्सका नागरिकले २०१५ मा उपाहार दिनु भएको थियो। त्यो साइकल चाहिँ अहिले अलिक सानो भएर आफ्नै पैसाले अर्को किनेको।
बाहिरी देशका खेलाडीलाई धेरै स्पोन्सरहरु आइरहेको हुन्छ। हरेक कुराले उनीहरु अब्बल हुन्छन्। तर नेपाली खेलाडी आर्थिक हिसाबले खासै बलियो हुँदैनन्। सबै आफूले नै व्यवस्था गरेर खेल्नु पर्ने भएको हुँदा उनीहरुको भन्दा कम स्तरीय साइकल प्रयोग हुन्छ।
साइक्लिङ खेलमै मेरो भविष्य छ। यहाँ म केही गरेर देखाउँछु भन्ने चाहिँ कति बेला लाग्यो?
साइक्लिङ सुरु गरेको एक वर्ष पछि नै मैले मेडलहरु जित्दै गएँ। त्यसपछि ए यहाँ पनि करियर बनाउन सकिँदो रहेछ भन्ने भयो।
राम्रो गरेको खण्डमा नामसँगै दाम पनि हुने रहेछ भन्ने लाग्यो। त्यसपछि झनै दृढ भएर लागेँ। साथ र सहयोग पनि त्यही अनुसारको पाउँदै गएँ।
साइक्लिङमै करियर बनाउँछु भनेर घरमा सुनाउँदा बाबा आमाले के भन्नु हुन्थ्यो? सुरुवाती दिनहरुमा कतिको साथ पाउनु भयो?
अरुको भन्दा मेरो परिवार चाहिँ यस्तो विषयमा सहयोगी नै हुनुहुन्छ। बिहानै साकल लिएर बेलुका घर फर्किंदा पनि केही भन्नु हुँदैन थियो। मैले गरेको हरेक काममा साथ दिनुहुन्थ्यो।
सुरुवाती दिनहरुमा मलाई खासै गाह्रो चाहिँ भएन। परिवारको साथ राम्रोसँग पाएको थिएँ।
१३औं सागमा नेपालले डाउन हिल र क्रस कन्ट्रीमा समान २-२ स्वर्ण पदक जित्न सफल भएको थियो। रोड बाइकिङमा निकै कमजोर देखियो। यसको मुख्य कारण के होला?
यसमा धेरै कारण छैन। रोड बाइकिङमा किन नेपालको कमजोर नतिजा आयो भन्दा नेपालमा अभ्यास गर्ने ठाउँ नै छैन। बाटो राम्रो छैन। यहाँ रोड सुरक्षित छ भन्न मिल्दैन। ट्राफिक उतिकै हुन्छ। राम्रोसँग अभ्यास गर्न पाउँदैनन्। ट्रेनिङ गर्ने राम्रो व्यवस्था पनि हुँदैन। त्यसैले गर्दा नतिजा राम्रो आउन सकेन।
१३औं सागकै लागि भनेर अभ्यास गर्दै गर्दा या प्रतियोगिताकै दिनसम्म स्वर्ण पदक जित्छु भन्ने लागेको थियो?
अभ्यास गरेअनुसार स्वर्ण पदक जित्छु भन्ने थियो। सबै खेलाडीको लक्ष्य नै त्यही हो, स्वर्ण। सकेसम्म आफ्नो बेष्ट दिन्छु भनेर सोचेको थिएँ।
यहाँसम्मको यात्रामा धेरै पसिनाहरु बगेको छ। जसरी भए पनि राम्रो गर्नु पर्छ भन्ने मानसिकता बनाएको थिएँ। रेस सुरु भयो। नभन्दै आफूले सोचेको जस्तै नतिजा आयो। एक हिसाबले भन्नु पर्दा लक्ष्यमा पुगेँ।
१३औं सागभन्दा अघि तपाईंले डाउनहिलमा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु भएको थियो?
मैले २०१६ बाट साइक्लिङको डाउनहिलमा प्रतिस्पर्धा गर्दै आइरहेको छु। यो अवधिमा मैले निकै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेलेँ।
थाइल्यान्ड, मलेसिया, भारत लगायतका देशहरुमा गएर खेलेको छु। आफूलाई अब्बल सावित पनि गरेको छु।
साइक्लिङ खेलमा लागेर ठिकै गरेँ भन्ने लाग्छ कि अरु केही गर्न पाएको भए भन्ने हुन्छ?
मैले जति पनि अहिलेसम्म उपलब्धि पाएको छु। यसले मलाई गर्व गर्न सक्ने बनाउँछ। ४-५ वर्ष बगाएको पसिना खेर गएको छैन। मैले जति गरेको छु त्यसको प्रतिफल राम्रो छ। त्यसैले मलाई पछुतो होइन खुशी लाग्छ। साइक्लिङ करियर छानेर पछुताएको चाहिँ अहिलेसम्म छैन।
साइक्लिङ खेलको स्कोप नेपालमा कतिको देख्नु हुन्छ?
नेपाल माउन्टेन बाइकिङको लागि उपयुक्त स्थान हो। तर हामीले अभ्यास गर्नका लागि राम्रो व्यवस्था नै छैन। हामीले अहिले जति पनि अभ्यास गर्छौ त्यो कि त मान्छे हिँड्ने बाटो हुन्छ कि त खेतको आलीहरु।
ल साइक्लिङको लागि यो स्थानमा बनाएर अभ्यास गर्नु भन्ने नै छैन। अहिले हामीले सिकेको भनेकै मान्छे हिँड्ने बाटो, खेतको आली अथवा पार्कतिर हो। यदि हामीलाई पनि बाहिरको जस्तै व्यवस्थित स्थानमा अभ्यास गराउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउन सकिन्छ जस्तो लाग्छ। यो खेल नेपालको लागि नयाँ नै हो। त्यसमाथि पनि साइक्लिङ खेलमा सरकार र सम्बन्धित निकायको ध्यान कमै पुगेको छ।
तपाईंको अबको उद्देश्य के छ?
मैले जे गरिरहेको छु त्यसैलाई निरन्तर दिन पाउँ। अभ्यासहरु भइरहोस्। म टुरिजम फिल्डमा पनि छु। माउन्टेन बाइकिङ गाइड काम गर्छु। सिजनमा ३-४ वटा हुन्छ। यसलाई अगाडि बढाउँदै जाउँ।
कोरोना भाइरस लागेपछि बच्चाहरुलाई पनि साइक्लिङ सिकाउन थालेको छु। यो पनि निरन्तर भइरहोस्।
अन्त्यमा तपाईंलाई केही भन्न मन छ?
हामीलाई संघले जति सहयोग गरिरहनु भएको छ, यो निरन्तर होस्। अन्तर्राष्ट्रिय स्तरमा मेडल खोज्ने हो भने साइक्लिङमा अझै लगानी गर्नु पर्छ। अन्य देशको तुलनामा हामी निकै पछि छौं। राम्रो नतिजाको लागि लगानी पनि राम्रै हुनुपर्छ।
*तस्बिरहरु निष्माको फेसबुकबाट लिइएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।