काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले संविधान संशोधनका लागि भएको निर्वाचनमा अनुपस्थित हुने सांसदहरुलाई स्पष्टीकरण सोधेको छ।
सरकारले संसदमा दर्ता गराएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि गत शनिबार प्रतिनिधिसभामा मतदान भएको थियो। निशान छापमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्र समेट्न सरकारले निशान छापमा परिवर्तन गराउन संविधान संशोधन प्रक्रिया अघि बढाएको थियो। प्रतिनिधिसभामा सर्वसम्मतरुपमा पारित सो विधेयक अहिले राष्ट्रियसभामा प्रक्रियामा छ।
‘मिति २०७७/०२/३१ को प्रतिनिधिसभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्वीप जारी गरेकोमा उक्त दिन तपाई प्रतिनिधिसभा बैठकमा बिना पूर्व सूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रक्रियामा नै सहभागी नरहनुभएको देखियो। अतः दलको विधान, दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो? पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दल कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनुहुन निर्देशन गरिन्छ’, नेकपा मुख्य सचेतक देवप्रसाद गुरुङद्वारा असार १ पठाइएको पत्रमा भनिएको छ।
गत शनिबारको निर्वाचनमा नेकपाका हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम र शिवकुमार मण्डल अनुपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।