काठमाडौं- प्रदेश २ सरकारले आगामी आर्थिक २०७७/०७८ को लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्। बजेटमा पर्यटन पूर्वाधार विकास, कृषि ऋणमा अनुदानजस्ता कार्यक्रम अगाडि सारेको मन्त्री यादवले सभामा जानकारी गराएका थिए।
कुल बजेटमध्ये चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रुपैयाँ रहेको छ।
यसैगरी वित्तीय व्यवस्थातर्फ १६ करोड र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ८३ करोड बजेट विनियोजन भएको छ। बजेटको स्रोत व्यवस्थापनमा भने आन्तरिक स्रोत राजस्वतर्फबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार र नेपाल सरकारबाट प्राप्त हुने विभिन्न अनुदानबाट १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ रहने मन्त्री यादवले सभामा जानकारी गराएका छन्।
यसैगरी चालू आर्थिक वर्षको विनियोजबाट बचत हुने नगद मौज्दात ६ अर्ब ९१ करोड २२ लाख २९ हजार गरी नपुग १ अर्ब रुपैयाँ भने आन्तरिक ऋणबाट १ अर्ब व्यवस्थापन गर्ने बजेटमा उल्लेख छ।
यसैगरी प्रदेश निर्वाचन विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड , प्रदेश भित्रका स्थानीय तहलाई विभिन्न अनुदान शीर्षकमा २ अर्ब ८२ करोड ६० लाख रुपैयाँ विनियोजन भएको मन्त्री यादवले सभामा जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।