काठमाडौं- सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उक्त बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गरेका हुन्।
सुदूरपश्चिम प्रदेशले चालुगततर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार रुपैयाँ अर्थात् कुल विनियोजित प्रस्तावको ४२ दशमलव ५ प्रतिशत छुट्याइएको छ।
त्यस्तै पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रुपैयाँ अर्थात् कुल विनियोजन प्रस्तावको ५० दशमलव २ प्रतिशत, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १३ करोड ५० लाख रुपैयाँ अर्थात् ६ दशमलव ४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ अर्थात् विनियोजित रकमको शून्य दशमलव ९ प्रतिशत बराबर बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षको बजेटका लागि श्रोत परिचालनमा आन्तरिक राजश्वबाट ६० करोड ७० लाख ३० हजार, नेपाल सरकारबाट राजश्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित ७ अर्ब ८७ करोड ३६ लाख र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त व्यवस्थापनबाट बाँडफाँड हुने रोयल्टीबाफतको रकम ७ करोड रुपैयाँ अनुमान गरिएको छ।
त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणबाट ८ अर्ब ७ करोड ६८ लाख रुपैयाँ, सशर्त अनुदानबाट ४ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ, समपुरक अनुदानबाट प्राप्त हुने १ अर्ब २६ करोड २९ लाख रुपैयाँ र विशेष अनुदानबाट प्राप्त हुने ५८ करोड ५० लाख रुपैयाँलाई बजेटको श्रोत मानिएको छ।
विकास साझेदारबाट बजेट प्रणालीबाट खर्च हुनेगरी १ अर्ब ८९ लाख १५ हजार रुपैयाँ र चालु आर्थिक वर्षका लागि विनियोजन भएर खर्च हुन नसक्ने अनुमान गरिएको १० अर्ब ५९ करोड ३६ लाख रुपैयाँलाई पनि आगामी आर्थिक वर्षको बजेट श्रोतका रुपमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।