एजेन्सी- भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भएको बताएका छन्। सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला–लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको बताएका हुन्।
सिंहले मानसरोवर यात्रामा जाने तीर्थयात्रीले पहिले सिक्किमको नथुला पास हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब सीमा सडक संगठन(बीआरओ) ले निर्माण गरेको लिंक रोडमार्फत सहज यात्रा हुने बताए। उनले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै भने, ‘हाम्रो छिमेकी देशमा यस सडकलाई लिएर केही असमझदारी सिर्जना भएको छ। भारत र नेपालबीचको सम्बन्ध सामान्य होइन। नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध रहेको छ।’
सिंहले नेपाल र भारतबीच सामाजिक, भौगोलिक र सांस्कृतिक सम्बन्धका साथै आध्यात्मिक सम्बन्ध पनि रहेको बताए।
‘भारत–नेपाल सीमाका बारेमा एक खालको भ्रम सिर्जना भएको छ ’ त्यसलाई वार्ताकै माध्यमबाट समाधान गरिनेछ। नेपाली नागरिकप्रति भारतमा कहिल्यै कटुता देखिएको छैन।’
नेपाल र भारतबीच धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उनले भने, ‘बाबा पशुपतिनाथलाई हामीले कसरी बिर्सन सक्छौं। बाबा पशुपतिनाथ होस् वा हाम्रो काशी विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कसरी अलग गर्न सकिन्छ ? यो सम्बन्ध यो लोकको होइन, म यो सम्बन्ध अर्कै लोकको हो भन्नेमा विश्वास राख्छु। यो सम्बन्धलाई कसैले चाहेर पनि परिवर्तन गर्न सक्दैन।’


त्यस्तै महाकाली नदीको उपस्थिति कोलकाताको कामख्या मन्दिरदेखि भारतीय सेनाको गोर्खा रेजिमेन्टसम्म रहेको उल्लेख गर्दै रक्षामन्त्री सिंहले नेपाल भारतको सम्वन्ध अन्य देशसँग तुलना गर्न नमिल्ने बताए। ‘कोलकाताको कामख्यादेखि विन्ध्याचलसम्म सबैतिर महाकाली रहेकी छिन्। उत्तराखण्डको गाउँगाउँमा महाकालीका भक्त छन् ’ सिंहले भनेका छन् ‘यस्तो अवस्थामा नेपाल भारतको सम्बन्ध कसरी टुट्न सक्छन्। धार्चुलाको अगाडि जति तारबार लगाए पनि यो सम्बन्धलाई तोड्न सकिँदैन।’
त्यस्तै अहिले आफूले रक्षामन्त्रीको पनि जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै सिंहले भारतीय सेनामा गोरखा रेजिमेन्ट भएको सम्झना गरे।
‘भारतमा रहेको गोरखा रेजिमेन्ट जसले पटक–पटक शौर्य र पराक्रमको परिचय दिएको छ। ’
यसअघि पनि भारतीय रक्षामन्त्री राजनाथ सिंहले विभिन्न सञ्चारमाध्यमसँगको साक्षात्कारमा लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गर्ने बताए।
रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए।
त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो। नेपालले यो क्षेत्र समेटेर नक्सा जारी गर्दै निसाना छाप संशोधनका लागि प्रतिनिधि सभावाट पारित गरिसकेको छ। उक्त विधेयक अव केही दिनमा कानुन बन्ने क्रममा रहेको छ।
साथै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्साअनुसारको निसान छाप परिवर्तनका लागि प्रतिनिधिसभाबाट सर्वसम्मतिले संविधान संशोधन गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।