काठमाडौं- सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब २६ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ। सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षलाई स्वास्थ्य सेवा सुधार दशकका रुपमा मनाउने पनि घोषणा गरेको छ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षको बजेटमा उक्त प्रदेशले स्थास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने र कोभिड १९ महामारी रोकथामको विषयलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको मन्त्री बोहराले बताए।
स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा पुग्न नसकेका क्षेत्रमा स्थास्थ्य सेवा विस्तार र टीकापुर, अछाम, बझाङ, दार्चुला, बैतडीका अस्पतालमा आइसोलेसनसहितको स्वास्थ्य भौतिक संरचना निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ।
कोभिड १९ का कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभावलाई मध्यनजर गरी अर्थतन्त्र पुनरोत्थानलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको र पिछडिएका जिल्लाहरु बझाङ, बाजुरा, दार्चुला र अछाम जिल्लालाई विकासको प्राथमिकतामा राखिएको मन्त्री बोहराले बताए। त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण क्षेत्रको विकास प्रवर्द्धनका लागि आगामि आर्थिक वर्षका लागि प्रादेशिक वन नीति, उद्योग, खनिज तथा पर्यटन नीतिलगायत कानुनी व्यवस्था तर्जुमा गर्ने प्रदेश सरकारको योजना छ।
आगामी आर्थिक वर्षका लागि १२ करोड रुपैयाँमा जडिबुटी कम्पनी स्थापना गर्न विनियोजन प्रस्ताव गरिएको छ। सुदूर पश्चिमका सहरी क्षेत्र र सडक छेउछाउमा सिसिटिभी जडान गर्न २ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ। सुरक्षा निकायका भवन बनाउन २१ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।