काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपालले प्रकाशित गरेको पूर्ण नक्साले दुई देशबीच वैमनश्यता उत्पन्न हुन नहुनेप्रति सचेत बनाएका छन्।
संविधान संशोधनका विषयमा संसदमा बोल्ने क्रममा कांग्रेस नेता कोइरालाले आफ्नो भूभाग समेटेर नक्सा जारी गर्नु नेपालको राष्ट्रिय आवश्यकता भएको बताए। नेपाल र भारतबीच रहीआएको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिकलाई बिग्रन दिन नहुनेतर्फ सचेत बनाएका छन्।
सरकार चनाखो र परिपक्व रूपमा प्रस्तुत हुँदा नेपालका हितमा परिस्थितिको निर्माण हुने उनले बताए। उनले भने, ‘नेपाल–भारतसम्बन्ध जति नेपालका लागि आवश्यक छ, अन्तर्राष्ट्रिय मन्चमा भारतका लागि त्यति नै उपयोगी पनि छ।’ भारत र चीन दुवै छिमेकी राष्ट्रले नेपाली स्वाभिमानको सम्मान गर्ने उनले विश्वास व्यक्त गरे।
उत्तर र दक्षिणका दुवै छिमेकीलाई समानताका आधारमा आपसी सम्बन्धको विकास गर्न उनले सुझाव दिए। सरकारलाई संविधान संशोधनका पक्षमा सबैको समर्थन रहेको जनाउँदै महामन्त्री कोइरालाले जनताको निराशालाई सीमाको मुद्धाले नछेक्न चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।