काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केही दिनअघि सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा भएको साम्प्रदायिक झडप र त्यसपछि भएको प्रदर्शनका क्रममा सुनसरी र सिरहामा चार जनाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न माग गरेको छ ।
मंगलबार सरकारले उक्त घटनामा मारिएका चार जनालाई सहिद घोषणा गरेको थियो । मन्त्रिपरिषद्को बैठकबाट सहिद घोषणा गरे पनि उक्त घटनाको सत्यसत्य थाहा पाउनका लागि मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आयोग बनाउन माग गरेको हो ।
कांग्रेसका अनुसार उक्त घटनापछि सरकारले पीडित पक्षलाई न्याय दिने प्रतिबद्धता जनाउँदै सम्झौता गरे पनि हालसम्म चार जनालाई शहीद घोषणा गर्नेबाहेक सम्झौता कार्यान्वयन हुन सकेको छैन।
सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा स्थानीय समुदायमा आक्रोश बढिरहेको र सरकारको गैरजिम्मेवार रवैयाले पुनः अर्को दुर्घटना निम्तिने खतरा बढेको कांग्रेसको निष्कर्ष छ। यसै घटनाका सम्बन्धमा न्यायिक आयोगको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
सरकारले यस विषयमा चासो नदेखाएको भन्दै कांग्रेसले तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न जोडदार माग गरेको छ।
यस्तै कांग्रेसले विभिन्न समयमा सरकार र नागरिकबीच तथा पेशागत संघ–संगठनहरुसँग भएका सहमति तथा सम्झौताहरु कार्यान्वयनमा ल्याउनसमेत माग गरेको छ । कांग्रेसले सहमति गर्ने तर कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिप्रति गम्भीर असन्तुष्टि जनाएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।