एजेन्सी- ब्राजिल सरकारले कोभिड-१९ सम्बन्धी कुनै पनि विवरण सार्वजनिक नगर्ने भएको छ। त्यहाँका स्वास्थ्य मन्त्रालय स्रोतले स्थानीय सञ्चारमाध्यमसँग बोल्दै सर्वाधिकार सम्पन्न राष्ट्रपति जैर बलसोनारो आफैंले यस्तो निर्णय गरेको बताएका छन्।
शुक्रबार ब्राजिल सरकारले कोभिड-१९ सम्बन्धी कुनै पनि विवरण सरकारले प्रस्तुत गर्ने दैनिक बुलेटिनबाट सार्वजनिक नगर्ने घोषणा गरेको हो। सरकारको यस्तो निर्णयप्रति ब्राजिलियन समुदाय रूष्ट बनेका छन्।
त्यहाँको सरकारले यस्तो निर्णय गरेपछि विभिन्न संघसंस्थाहरूले यो कदमलाई अधिनायकवाद र सेन्सरसिपको पराकाष्ठाको संज्ञा दिएका छन्। ‘सरकारको यस्तो अमानवीय र असंवेदनशील कदम कुनै पनि हालतमा सफल हुँदैन। हामी र सम्पूर्ण ब्राजिलियन समुदायले यो क्रूर कदमलाई कहिले पनि बिर्सने छैनौं न त यसले देशलाई पुग्ने क्षतिलाई नै बिर्सने छौं’ ब्राजिलस्थित नेसनल काउन्सिल अफ स्टेट हेल्थ सेक्रेटरी प्रमुख अलबर्टो बेल्ट्रेमले एक विज्ञप्ति जारी गर्दै भने।
अहिले ब्राजिल कोभिड १९ बाट सबैभन्दा धेरै संक्रमित रहने देशको दोस्रो स्थानमा रहेको छ। इटालीलाई पनि उछिनेर ब्राजिलमा कोरोनाको संक्रमण ६ लाख ९१ हजारभन्दा ७ सय ५८ नाघिसकेको छ भने ३६ हजार ४ सय ५५ भन्दा बढीको कोरोनाकै कारण ज्यान गइसकेको छ।
यस्तो अवस्थामा सरकारले कोरोनाको क्षति र यसबाट हुने मृत्यु र संक्रमितको विवरण लुकाउनाले मानिसमा शंकाको वातावरण पैदा भएको छ। यसका साथै सरकारले कोरोना सम्बन्धी सम्पूर्ण विवरण दिने आधिकारिक साइटबाट पनि सबै विवरण हटाएको छ भने विश्वभरीकै कोरोनाको विषयमा अपडेट दिने जोन्स हप्किन्स यूनिभर्सिटीले पनि शनिबार आफ्नो साइटबाट ब्राजिलको कोरोनासम्बन्धी सबै डेटा हटाएको थियो तर पछि फेरि समावेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।