काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले बन्द रंगशालमा हुने खेल खेलाडी, दर्शक सबैका लागि अनौठो परिस्तिथि हुने बताएका छन्।
कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएका लिगहरु अहिले बन्द रंगशालामा सुरु हुने तयारीमा छ। जर्मन बुन्डेस लिगा बन्द रंगशालामा नै चलिरहेको छ भने इटाली, इंग्ल्याण्ड र स्पेनमा पनि खेलको नयाँ मिति तय छ।
‘बन्द रंगशालाको खेल असाध्यै अनौठो हुनेछ। मैले जर्मनीमा भएको खेल हेरिरहेको थिएँ, मैदानको हरेक कुरा सुनिन्छ, निकै अनौठो अवस्था देखिन्छ’, उनले भनेका छन्, ‘अहिलेको जस्तो लामो समय आराम गरेको यसअघि कहिल्यै थिएन। अबको ध्यान ला लिगा र च्याम्पियन्स लिगमा नै हुनेछ।’
ग्रिजम्यानले आफ्नो फुटबल जीवनको अन्तिम समय अमेरिकन लिगमा बिताउने चाहना रहेको पनि बताएका छन्। विशेष गरी अहिलेको समय बार्सिलोनाबाट ला लिगा र च्याम्पियन्स लिग जित्नेमा केन्द्रित रहने र त्यसपछि कतार विश्वकपमा ध्यान दिने बताएका उनले फुटबलका अन्तिम दिनहरु अमेरिकामा बिताउने चाहना रहेको बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।