काठमाडौं- लामो समय रोकिएर सुरु भइरहेका फुटबल सिजनमा सबैभन्दा बढी चिन्ताको विषय दर्शक बनेको छ। बन्द रंगशालामा खेलिएका खेलमा दर्शकबिनाको उत्साह कमजोर भइरहँदा लिगहरुले त्यसको झल्को मेट्ने विभिन्न उपाय अपनाइरहेका छन्।
यस्तोमा स्पेनिस ला लिगामा थ्री डी प्रविधि प्रयोग गरेर खाली रंगशाला चित्र भरेर दर्शकको आवाज आउनेसमेतको व्यवस्था गर्न लागिएको छ। मैदानमा खेल देखाउनेबाहेक पनि केही क्यामरा त्यस्ता भर्चुअल दर्शकमा पनि केन्द्रित हुने बताइएको छ।
विशेष गरी त्यस्तो व्यबस्था खेल टेलिभिजन प्रसारणको अधिकार पाएकाले गर्न लागेका हुन्। त्यसरी उनीहरुले कृत्रिम दर्शक फिफा ट्वान्टी भिडियो गेममार्फत मिलाउन लागेका हुन्। जसमा कृत्रिम दर्शकको उत्साह खेलमा भइरहेको अवस्थाअनुरुप नै हुनेछन्। त्यसमा प्रयोग गरिने आवाज उही रंगशालामा यसअघि भएका खेलको आवाज हुनेछन्।
यसरी कृत्रिम दर्शकसहित खेल प्रसारण भइरहेको हेर्ने वा खाली रंगशालामा जस्तो छ उस्तै हेर्ने भन्ने छनोट भने दर्शकलाई हुनेछ। एकैसमय दुवै तरिकाले खेलको प्रत्यक्ष प्रसारण हुनेछन्।
यस्तो विषयमा ला लिगा क्लबहरु पनि सहमत भएका छन्। बुधबार क्लबहरुसँगको बैठकपछि अहिले रंगशालामा आवश्यक प्रविधि जडान गर्ने काम पनि भइरहेको छ।
कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको स्पेनिस ला लिगा जुन ११ मा सुरु हुने तय छ। जसमा पहिलो खेल रियल बेटिस र सेभियाबीच हुनेछ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकै आदेशमा ला लिगा मार्च १२ मा रोकिएको थियो। अब समयमा नै रोकिएको लिग सकाएर नयाँ लिगमा काम गर्न सकिए सफल भइने ला लिगा अध्यक्ष जेभियर टेबासले बताएका छन्।
ला लिगामा ११ खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिडभन्दा दुई अंकले अघि रहँदै शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।