एजेन्सी- बेलायतको स्वास्थ्य सेवा एनएचएसले कोभिड-१९का बिरामीका लागि रेम्डेसिभिर औषधी वितरण गर्ने भएको छ। स्वास्थ्यमन्त्री म्याट ह्यानकले कोरोना भाइरसका बिरामीका लागि रेम्डेसिभिर औषधीको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको बताए।
उनले कोरोना संक्रमण शुरु भएपछि बिरामीका लागि लिइएको यो नै सबैभन्दा ठूलो निर्णय भएको बताए। बेलायती रेगुलेटर्सका अनुसार यो औषधीको प्रयोगलाई लिएर पर्याप्त प्रमाण भएको र नाम चलेका कोरोना अस्पतालमा यसको प्रयोगको अनुमति दिन सकिने बताइएको छ। तर अहिले यो औषधिको सप्लाई कम भएकाले ती व्यक्तिलाई मात्र दिइन्छ जसलाई यसको ज्यादा जरुरी हुन्छ।
अमेरिका र जापानाले पनि यही औषधीको प्रयोगलाई लिएर यस्तै निर्णय लिइसकेका छन्। तर कोरोना भाइरसका बिरामीको लागि रेम्डेसिभिर उपयुक्त औषधि नभएको बताउँदै केही स्वास्थ्य विज्ञहरूले भने चेतावनी दिँदै आएका छन्। रेम्डेसीभिर अमेरिकी कम्पनी गिलिड साइन्सले विकसित गरेको यो औषधि इबोलाको उपचारका लागि बनेको थियो।
हालैमात्र अमेरिकामा गरिएको एक अध्ययनमा गम्भीर रुपमा रहेका कोरोना भाइरसका बिरामीलाई रिकभर समय कम गर्न सफल भएको थियो। विश्व स्वास्थ्य संगठनका डाक्टर ब्रुस आइलवर्डले चीन भ्रमणपछि रेम्डेसिभिर एकमात्र यस्तो औषधी हो जसले यसको असरलाई कम गरेको बताएका थिए।
विश्वका कयौं देशमा रेम्डेसिभिरलाई लिएर क्लिनिकल ट्रायल चलिरहेको छ। ट्रायलबाट प्राप्त सुरुवाती तथ्यांकअनुसार यो औषधीले बिरामीलाई रिकभरी टाइम चार दिनसम्म कम गरेको पाइएको छ। तर यो बिरामीको ज्यान बचाउन सक्ने औषधीको रुपमा भने प्रमाणित हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।