काठमाडौं- जर्मन बुन्डेस लिगामा शनिबार राति भएको खेलमा बायर्न म्युनिखले आइनट्राच फ्रान्कफुटलाई ५-२ ले हराएको छ। बायर्नका लागि गोर्तेज्का, मुलर, लेवान्डोस्की, डेभियसले गोल गरे। एक आत्मघाती सँगै फ्रान्कफुटको दुवै गोल हिन्टेरगरले गरेका थिए।
जितसँगै शीर्षमा रहेको बायर्नको २७ खेलमा ६१ अंक भएको छ। दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डको २७ खेलमा ५७ अंक छ। १३औँ स्थानमा रहेको फ्रान्कफुटको २६ खेलमा २८ अंक छ।
कोरोना भाइरस (कोभिड १९) का कारण बन्द रंगशालामा गरिएको खेलमा उत्कृष्ट गोलहरुका कारण पनि दर्शकको अभाव खड्किएको थियो। कोरोना भाइरसका कारण रोकिएको लिग सुरु भएपछि गएको आइतबार बायर्नले युनियन बर्लिनलाई हराएर खेलको सुरुवात गरेको थियो।
अहिले फ्रान्कफुटलाई हराएको बायर्नले लिगमा आफ्नो विजेता छबीलाई अघि बढाएको छ। तर दर्शकको अभावले उत्कृष्ट गोलसमेत फिका बनिदिएको छ। सामान्यतः ७५ हजार दर्शक उपस्थित हुने रंगशालामा बायर्नलाई यसपटक घरेलु मैदानको उत्साह अनुभव हुन पाएन।
कोरोना भाइरसका कारण स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर खेल गरिएको छ। युरोपका ठूला लिगहरुमा सबैभन्दा पहिले बुन्डेस लिगा सुरु भएकाले पनि यसको महत्व अहिलेको समयमा अझ बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।