काठमाडौं- वर्ष २०७३ भन्दा २०७४ साल नेपाली फिल्म क्षेत्रका लागि तुलनात्मक रुपमा केही सुधारोन्मुख देखियो। हलिउड र बलिउडको नक्कलभन्दा पनि धेरै फिल्मले मौलिकतामा जोड दिए। व्यापारिक हिसाबमा ठूलो फाइदा नभए पनि औसत कारोबारमै फिल्म उद्योगले चित्त बुझाउनुपरेको छ।
वर्षभरिमा ५–७ फिल्मले व्यापारिक सफलता प्राप्त गरे भने सोही अनुपातमा फिल्महरुले समीक्षकहरुको सकारात्मक प्रतिक्रिया पाउन सफल बने।
बैसाख मा लभ लभ लभ, राधे र घामपानीबाट सुरु भएको फिल्म वर्ष २०७४ मा नेपाल चलचित्र बिकास बोर्डको रेर्कड अनुसार ८७ वटा फिल्म सेन्सर पास भई प्रर्दशनमा आए। यो वर्ष १९७ फिल्म बोर्डमा दर्ता भएका थिए। यो संख्या २०७३ मा दर्ता हुन आएका फिल्महरुको संख्याभन्दा ३ वटाले मात्र बढी हो।
संख्यात्मक हिसाबमा मौलाएको फिल्म क्षेत्र सोही अनुपातमा गुणस्तर र व्यापारमा भने चुकेको देखिन्छ। वर्षभरिमा हलभित्र छिरेका सफल फिल्महरुलाई हातका औंलामै गणना गर्न सकिन्छ। फिल्मका नाम र स्टार कास्टहरुको चर्चा बजारमा राम्रै चले पनि तिनीहरुको व्यापार र समीक्षकहरुको रेटिङमा उक्त फिल्महरुले प्राप्त चर्चाको इज्जत पनि बचाउन सकेनन्।
व्यावसायिक सफल फिल्म
वर्ष २०७४ मा चर्चामा आएका केही फिल्महरुले मात्र व्यावसायिक सफलता हात पारे। गीत संगीत, स्टार कास्टहरुको विभिन्न कोणबाट चर्चा भए पनि दर्शक र समीक्षकका लागि सफल बन्न सकेनन्।
२०७४ मा व्यावसायिक रुपमा सफल फिल्मको पहिलो नम्बरमा आउँछ दिपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जा २, जसले करिब १२ करोडमाथिको व्यापार गर्न सफल बनेको थियो।
त्यसैगरी मह सञ्चारको ब्यानरमा निर्माण भएको प्रदीप भट्टराई निर्देशित शत्रुगते पनि दर्शकको रोजाइमा परेको छ। प्रदर्शनको तेस्रो हप्तामा पनि नेपालका विभिन्न हलमा यो फिल्म चलिरहेको छ।
करिब ३ करोडको लगानीमा निर्माण गरिएको फिल्मले पहिलो हप्तामै ५ करोड ६२ लाखभन्दा बढीको व्यापार गरेको थियो।
म यस्तो गीत गाँउछु पनि वर्ष २०७४ को सफल फिल्मका रुपमा रह्यो। कम लगानीमा निर्माण भएको फिल्ममा पल शाह र पूजा शर्माले जोडी बाँधेका छन्। फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्।
झरना थापाद्वारा निर्देशन गरिएको फिल्म ‘ए मेरो हजुर २’ पनि वर्षको सफल फिल्ममा पर्छ। डेब्यु अभिनेता सलिनमान बनियाँ, साम्राज्ञी राज्य लक्ष्मी शाह तथा सलोन बस्नेत लगायतको अभिनय रहेको छ।
प्रेम गीत २ पनि वर्षको व्यावसायिक सफल फिल्म बन्यो। अभिनेता प्रदीप खड्का र अभिनेत्री अश्लेषा ठकुरी अभिनित फिल्मलाई युवा निर्माता सन्तोष सेनले निर्माण गरेका हुन्। फिल्ममा थाइल्यान्डका दृश्य समावेश गरिएकाले पनि दर्शकले फरक स्वाद लिन पाए।
छविराज ओझा निर्मित फिल्म ‘मंगलम’ पनि समीक्षक र दर्शकको आँखामा सफल रह्यो। फिल्मले लगानी सुरक्षित गर्नुका साथै केही मुनाफा प्राप्त गर्यो।
फिल्म २ रुपयाँ पनि वर्षको सफल फिल्मभित्र अटाएको छ। कुटुमा कुटु सुपारी दाना बोलको गीतले चर्चामा आएका फिल्म व्यापारिक हिसाबमा भने मध्यम रह्यो।
यस वर्ष घामापनी, ऐश्वर्या, र कान्छी, कृ जस्ता फिल्महरु पनि प्रदर्शनमा आए। तर समीक्षकहरुको मध्यम रेटिङ प्राप्त गर्दै औसत व्यापारमै सीमित रहे।
चैत्र ३० गते अर्थात् वर्षको अन्तिम शुक्रबारबाट प्रदर्शनमा आएका फिल्म हुन् लिलिबिली र नेप्टे। दयाहाङ राई, रोहित रुम्बा लगायतको अभिनय रहेको नेप्टे र प्रदीप खड्का र डेब्यु नायिका जसिता गुरुङको अभिनय रहेको लिलिबिलीको नतिजाका लागि अझै केही दिन कुर्नुपर्ने देखिन्छ।
विवादको सिकारमा फिल्म क्षेत्र
वर्ष २०७४ मा केही नेपाली फिल्मका विषय विवादित बने। एकमुस्ट रुपमा हेर्ने हो भने फिल्म कृ र छक्का पञ्जा २ ले निकै विवाद निम्त्याए।
गीत चोरीको आरोप खेप्दै फिल्म कृ ले त्यसबापत ठूलो क्षति ब्यहोर्न पुग्यो। कृमा समावेश सम्झना फिल्मको गीतको लाइन 'उकालीमा अघिअघि' चोरिएको भन्दै फिल्मका निर्माता शम्भु प्रधानले कानुनी सहारा लिए। पछि कृ का निर्माता सुवास गिरीले ११ लाख क्षतिपूर्ति तिर्नुपर्यो।
गीत चोरीको आरोपमा फिल्म छक्का पञ्जा २ पनि मुछियो तर निर्माता दीपकराज गिरीले त्यसको उपचार समयमै गरेर त्यसको क्षतिपूर्तिबाट बचे।
फिल्म छक्का पञ्जामा उठान गरिएको विषयले देशका महिलामाथि हिंसा भएको भन्ने अभिनेत्री ऋचा शर्माको अभिव्यक्ति पनि खुब विवादित बन्यो। त्यसैगरी फिल्म कायरको सुटिङमा व्यस्त अभिनेत्री सम्राज्ञी राज्य लक्ष्मी शाहको स्तनको तल्लो भागमा खोपिएको ट्याटुलाई लिएर पनि चर्चा चलिरह्यो।
त्यसैगरी अभिनेत्री आँचल शर्मा पनि फिल्म शत्रुगतेको प्रमोसनका क्रममा विवादमा मुछिन पुगिन्। पुरानो अन्तर्वार्तामा बोलेको कुरालाई पछि बोलेकै छैन भन्ने प्रसंगमा आँचल विवादमा तानिइन्।
त्यसैगरी अभिनेत्री प्रियंका कार्की आफ्नो ब्वाइफ्रेन्ड आयुष्मान देशराज जोशीसँगको चुम्बनको विषयले चर्चामा आइन्।
फिल्मकर्मी र समीक्षकका नजरमा
वर्ष २०७४ लाई स्वर्णिम वर्षका रुपमा हेरेका छन् सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले। यो वर्ष आएका अधिकांश फिल्म लगानीका हिसाबमा सुरक्षित रुपमा अवतरण भए पनि थुप्रै नवकलाकारको आगमन र त्यतिकै मात्रामा उनीहरुले देखाएको सम्भावनाले फिल्म क्षेत्रको स्तरोन्नति भएको उनी बताउँछन्।
फिल्म लेखक प्रदीप भारद्वाजका विचारमा यस वर्ष फिल्म क्षेत्रले सोचे अनुरुपको प्रगति गर्न सकेन। उनी भन्छन्, 'यस वर्ष बजार व्यवस्थापन र प्रचारप्रसारमा देखिएका कमीकमजोरीहरुले राम्रा फिल्म पनि नराम्रो गरी घाटामा गए।'
नेपाली फिल्म बजारले अबका दिनमा वर्ष २०७४ मा देखिएको बजार व्यवस्थापन र ब्राण्डिङको अभावलाई बुझेर र यसबाट नयाँ पाठ सिक्नुपर्ने बताउँछन् उनी। 'एकै धारका फिल्मको भेल बग्दा अधिकांश फिल्म र अघिल्ला वर्ष चलेका अभिनेता अभिनेत्री छायाँमा पर्नुले सिंगो उद्योगमा अझै चेतनाको कमी भएको अनुभव हुन्छ,' उनले धने।
नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा वर्ष २०७४ लाई सुखद मान्छन्। केही फिल्मको उल्लेख्य व्यापार र नयाँ अनुहारलाई सिंगो उद्योगले नै मन पराएर स्वागत गर्नु राम्रो पक्ष भएको उनी बताउँछन्।
हलिउड र बलिउडको प्रभावबाट नेपाली फिल्म मुक्त हुँदै गएको खुसी व्यक्त गर्दै उनले भने, 'उत्कृष्ट नेपाली मौलिक कथावस्तु र सरल प्रस्तुतिलाई ध्यान दिने हो भने फिल्म उद्योगले निरन्तर प्रगति गरिरहनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।