नयाँ दिल्ली- भारतमा बुधबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन्।
कूल संक्रमितमध्ये २४ हजार ३८५ जना निको भएर घर फर्किएका वा डिस्चार्ज भएका छन् भने ४७ हजार ४८० जनाको उपचार भइरहेको छ।
कोविड–१९ बाट विगत २४ घण्टामा १२२ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको कूल संख्या दुई हजार ४१५ पुगेको छ।
मन्त्रालयका अनुसार महाराष्ट्र, गुजरात, तामिलनाडु र नयाँ दिल्ली राज्य सबैभन्दा बढी प्रभावित भएका छन्। पछिल्लो विवरण अनुसार महाराष्ट्रमा २४ हजार ४२७ जना, गुजरातमा ८ हजार ९०३ जना, नयाँ दिल्लीमा ७ हजार ६३९ जना संक्रमित छन्।
कूल मृत्यु भएका व्यक्तिमध्ये महाराष्ट्रमा ९२१ जना, गुजरातमा ५३७ जना र तामिलनाडुमा ६१ जना रहेका छन्।
यसैगरी भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, अरुणाचल, गोवा, मणिपुर, मिजोरम समेतका राज्यमा कोरोनाको संक्रमण देखिएको छ। कोरोना संक्रमण रोकथामका लागि भारत सरकारले एक महिनाभन्दा बढी समयदेखि देशव्यापी लकडाउन जारी राखेको छ। तर पछिल्लो समय भारतीय श्रमिक, मजदूर, विद्यार्थीसमेतका लागि विशेष श्रमिक रेलसेवा सञ्चालनमा ल्याएको छ।
(रासस–एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।