एजेन्सी- इरानमा सैन्य अभ्यासका क्रममा गल्तीले आफ्नै जहाजमाथि मिसाइल प्रहार भएको छ। यो प्रहारबाट जहाजमा रहेका १९ जनाको मृत्यु भएको छ। ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा इरानको एक मिसाइलले आफ्नै नौ सेनाको जहाजमा प्रहार गरेको थियो।
उक्त प्रहारबाट १९ जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन्। यो सैन्य अभ्यासमा इरानी नौ सेनाका दुई जहाज सहभागी भएका थिए। इरानको सरकारी मिडियाको रिर्पोट उल्लेख गर्दै बिबिसीले लेखेको छ‚ ‘एन नयाँ एन्टिशिप मिसाइल परीक्षणका क्रममा आइतबार यस्तो घटना भएको हो। ओमानको खाडीमा चलिरहेको यो परीक्षणका क्रममा सैन्य उपकरण बोक्ने कोणार्क नामको जहाज लाइट सर्पोटमा ठोक्किएको थियो। यो सैन्य अभ्यास हार्मज स्ट्रेटमा भइरहेको थियो। मिसाइललाई युद्धपोत जामरानबाट छोडिएको थियो।’
नियमित परीक्षण
इरानका सेनाले यो परीक्षण नियमित रुपमा गर्दै आएका थिए। सरकारी संचार माध्यमका अनुसार इरानको दक्षिणी समुन्द्र तटमा आइबार दिउँसो सैन्य अभ्यासको क्रममा बन्दर-ए-जस्कमा कोणार्क जहाजसँग एक मिसाइल ठोक्किएको थियो। टार्गेट अभ्यासको क्रममा निशाना र जहाजको बीचको दूरी ख्याल नगर्दा आफ्नै जहाजमा परेको हो।
यो दुर्घटना तेहरानको दक्षिण पूर्वमा करीब १२७० किमी टाढा ओमानको खाडीको पोर्ट अफ जस्कमा भएको हो। जामरान र कोणार्क जहाज इरानी नौ सेनाले प्रयोग गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।