काठमाडौं- इटालियन क्लब इन्टर मिलानका मिडफिल्डर क्रिष्टियन इरिकसन कोरोना भाइरस (कोभिड १९) का कारण घरविहीन भएर बस्न बाध्य भइरहेका छन्। इंग्लिस क्लब टोटनह्यामबाट गएको जनवरीमा मात्र मिलान गएका इरिकसनले घर खोज्ने समय नपाएका हुन्।
इन्टर मिलान गएपछि आठ खेल खेलेका उनले राम्ररी समय बिताउन पाएकै थिएनन्। जसले गर्दा कोरोनाका कारण फुटबल गतिविधिसँगै सबै कुरा ठप्प हुँदा उनको बासस्थान यकिन हुन सकेन। अहिले उनी क्लबको अभ्यासस्थलमा नै बसिरहेका छन्।
साथीहरुसँगै मिलेर उनीहरुको घरमा बस्नेबारे सोचेका इरिकसनले परिवारसँग रहेका साथीहरुसँग पनि लामो समय बस्न नमिल्ने सोचेका थिए। ‘रोमेलु लुकाकु र एस्ले योङमध्ये एकजनासँग उनीहरुको सोफामा सुत्नेगरी मिलाउन खोजेको पनि थिएँ, तर परिवारसँग भएका साथीहरुलाई भनिहाल्न मन लागेन। फेरि सोफामा यतिका दिन सुत्न सहज पनि हुँदैन’ उनले भनेका छन्।
‘त्यसैले परिस्थितिलाई विचार गर्दै क्लबकै अभ्यासस्थलमा बस्ने निर्णय गरेको हुँ। यहाँसँगै क्बलका केही कर्मचारीहरु पनि छन्’ उनले भने।
क्लबको बाहिर निस्कँदा प्रहरीले रोकेपछि उनको अवस्थाबारे बाहिर जानकारी आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।