काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको फुटबल प्रतियोगिताहरु सुरु हुँदा ९० मिनेटको समयमा एक टिमले पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाउने भएका छन्।
अहिले ९० मिनेटको खेलमा एक टिमले तीन जनासम्म खेलाडी परिवर्तन गर्न पाउँछन्। र अतिरिक्त समयमा जाने खेलमा थप एक खेलाडी परिवर्तन गर्न पाइन्छ। त्यसलाई बढाएर टिमले ९० मिनेटमा पाँच जनासम्म खेलाडी परिवर्तन गराउन पाउने र अतिरिक्त समयमा एक जना नै परिवर्तन गर्न पाउने अस्थायी नियम बनाइएको हो।
तर ९० मिनेटको समयमा टिमले पाँच खेलाडी परिवर्तन गरे पनि परिवर्तन गर्ने समय भने तीन पटक मात्र पाउने छन्। मध्यान्तरमा पनि खेलाडी परिवर्तन गर्न पाइने नै छ। त्यसमा दुवै टिमले एकै पटक खेलाडी परिवर्तन गर्दा त्यसलाई परिवर्तनका लागि दिइएको एक समय मात्र मानिने छ।
कम समयमा धेरै खेल खेल्नुपर्ने अवस्था आउने र खेलाडीहरुको फिटनेसमा समस्या आउन सक्ने भन्दै फिफाले यस्तो तयारी गरेको हो। त्यसैले खेलाडी परिवर्तनका सम्बन्धमा केही समयमा लागि मात्रै भए पनि फिफाले नियम ल्याएको देखिन्छ।
फिफालाई यस्तो नियमका लागि सबैभन्दा पहिला इंग्लिस फुटबल एशोसियसनले प्रस्ताव गरेको थियो, जसमा अहिले अरु फुटबलसम्बद्धहरु पनि सहमत देखिएका छन्।
अर्को ९० मिनेटको समयलाई कम गरेर खेलाउन गरिएको प्रस्तावमा भने त्यसले खेल भावनालाई असर गर्ने भन्दै सहमति जुटेको छैन।
त्यसका साथै भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रयोग नगर्ने सम्बन्धमा पनि छलफल भइरहेको छ। सानो कोठामा धेरै जना बसेर भिएआरको काम गर्नुपर्ने भएकाले त्यसलाई तत्काललाई स्थगित गर्नेबारे कुराकानी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।