काठमाडौं- दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड १९) को माहामारीपछि सरेको फुटबल लिग ‘के लिग’ शुक्रबारबाट सुरु भएको छ। एसियामा राम्रो फुटबल लिगमध्येको एक के लिग सुरु भएसँगै लामो समय रोकिएको खेल जगतमा नयाँ सञ्चार देखिएको छ।
विश्व खेलकुदमा कोरोनाले देखिएको असरबाट बाहिर निस्कन सबैभन्दा पहिलो प्रयास कोरियाबाट नै भएको छ। विश्व फुटबल प्रेमीले पछ्याउने युरोपियन लिगहरु सुरु हुन अझै पनि कठीन देखिइरहँदा के लिगले नयाँ सन्देश दिएको हो।
युरोपमा जर्मन बुन्डेस लिगा मे १६ बाट सुरु गर्ने मिति तोकेर तयारी भइरहेको छ। फ्रेन्च लिग वानमा उपाधि पिएसजीलाई दिइसकिएको छ। अन्य लिगहरु भने खेलेरै सकाउने गरी योजना बनिरहेका छन्। तर कहिले हुने यकिन छैन।
कोरोना भाइरसको संक्रमण देखिन थाल्दा र विश्वका अरु धेरै लिग फुटबल चलिरहँदा नै दक्षिण कोरियाले लिग फुटबल बन्द गरिसकेको थियो। खेल गतिविधिबाहेकका अन्य क्षेत्रमा पनि समयमा नै अपनाएको साबधानीले अहिले के लिग अरु प्रतियोगिताहरु भन्दा छिटो सुरु हुन सकेको हो।
शुक्रबार गएको तीन सिजनदेखिको विजेता टिम जियोनबक मोटर्स र सुवोन ब्लुविंग्सबीच खेल भइरहेको हो।
खेलाडीहरुलाई मैदानमा नै पनि एकअर्कासँग नजिक रहेर कुराकानी नगर्न भनिएको छ। हरेक खेलाडीका लागि पानीको बोतलमा समेत नाम लेखेर छुट्टै व्यवस्था गरिएको छ। मैदानबाहिर रहने हरेकका लागि मास्कको व्यवस्था अनिवार्य गरिएको छ।
लिगमा ३८ खेलको सट्टा २७ खेल खेलाइने बताइएको छ। यदि भविष्यमा कुनै असर परेमा २२ खेलपछिको नतिजालाई पनि अन्तिम मान्न सकिनेमा क्लबहरु सहमत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।