काठमाडौं- रोकिएको इंग्लिस प्रिमियर लिग सुरु गर्ने विषयमा खेलहरू कुन समयमा गराउने भन्नेबारे छलफल सुरु भएको छ। युइएफएको युरोपियन प्रतिस्पर्धाको समय नबिग्रने गरी जुनमा प्रिमियर लिग सुरु गरेर जुलाइमा सकाउने योजना बनिरहेको छ।
त्यसका लागि बन्द रंगशालामा खेल गर्ने र टेलिभिजनमार्फत सित्तैमा प्रसारण गर्नेगरी कुराकानी अघि बढेको छ। खेलहरु होम एण्ड अवेका आधारमा नगरी तेस्रो विकल्पको कुनै मैदानमा गर्ने गरी छलफल भइरहेको छ।
कोरोना भाइरस (कोभिड १९) का सिर्जित अप्ठ्यारो यो परिस्थितिमा ‘तेस्रो मैदानको विकल्प’ प्रयोग गर्न नसकिए सिजन यत्तिकै सकाउनुपर्ने लिग म्यानेजर्स एशोसियसनका प्रमुख कार्यकारी रिचार्ड बेभनले बताएका छन्।
प्रिमियर लिग क्लबका प्रतिनिधिसहित भिडियोमार्फत भएको बैठकमा क्लबहरुले ‘होम एण्ड अवे’ मैदान नभई कुनै ‘न्युट्रल’ मैदानमा खेल गर्नुपर्ने निश्कर्ष निकालेका थिए। त्यसका लागि विभिन्न १० मैदान प्रयोग गरिने गरी छलफल भइरहेको छ।
त्यसरी विकल्पका रुपमा तेस्रो मैदान प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे आउने केही दिनमा नै क्लबहरुले निष्कर्ष निकाल्नेछन्। तर धेरै क्लबहरु आफ्नो मैदानको विकल्पमा अर्को मैदान प्रयोग गर्न राजी नहुने देखिएको छ। क्लबको घरेलु मैदानको विकल्पका रुपमा कुनै तेस्रो मैदान प्रयोग गर्ने विषयमा रेलिगेसन नजिकका क्लबहरु पनि असन्तुष्ट देखिएका छन्।
शीर्ष क्लबहरुले त्यसमा सहमति जनाए पनि रेलिगेसन नजिक रहेका क्लबहरु भने असन्तुष्ट देखिएका छन्। मध्यमा रहेका अन्य क्लबले पनि त्यसले खेलको गुणलाई मार्ने बताइरहेका छन्। ब्राइटनका प्रमुख कार्यकारी पोउल बार्बरले त्यसरी विकल्पमा तेस्रो मैदानको प्रयोग गर्दा खेलमा असर पर्ने बताएका छन्।
प्रिमियर लिगमा अब बाँकी रहेका ९२ खेल सकाउन ४० हजार खेलाडी, प्रशिक्षक र पदाधिकारीको कोरोना भाइरस परीक्षणसमेत गर्नुपर्ने बताइएको छ। बन्द रंगशालामा खेल गरिने भए पनि त्यसअघि खेलमा संलग्न हरेकको परीक्षण सकाउनुपर्ने भएको हो।
प्रिमियर लिग मार्च १३ देखि रोकिएको हो। सबै क्लबले गरेर अब ९२ खेल खेल्न बाँकी रहेको छ। बाँकी खेलहरु बन्द रंगशालामा खेलिने र टेलिभिजन प्रसारण सित्तैमा गर्नेगरी तयारी भइरहेको छ।
प्रिमियर लिग जुन ८ बाट सुरु गर्ने तयारी भइरहँदा खेलाडीहरु पूरा अभ्यासमा मे १८ देखि सामेल हुनुपर्ने छ।
प्रिमियर लिग पुनः सुरु गर्ने तयारी भइरहँदा विभिन्न क्लबका डाक्टरहरुले भने चिन्ता व्यक्त गरेका छन्। यदि एक खेलाडीमा मात्र पनि संक्रमण देखिएमा त्यसको अवस्था जटिल हुने उनीहरुको भनाइ छ।
यस्तोमा अहिले नै मैदानमा फर्किहाल्न केही खेलाडीहरु तयार हुन समस्या हुने आवाज समेत सुनिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।