काठमाडौं- कोरोना भाइरस (कोभिड १९)का कारण रोकिएको जर्मन फुटबल लिग बुन्डेस लिगा मे १६ बाट सुरु हुने भएको छ। जर्मन फुटबल लिग (डिएफएल) कोरोनाको कारण रोकिएको लिग मे १६ बाट सुरु गर्ने निर्णय गरेको हो। यसअघि बुधबार मात्रै जर्मन चान्सलर एन्जेला मर्केलले लिग सुरु गर्न अनुमति दिएकी थिइन्।
योसँगै कोरोना भाइरसबाट रोकिएका युरोपका लिगहरुमध्ये पुनः सुरु हुने बुन्डेस लिगा सबैभन्दा पहिलो हुने भएको छ। मे १६ शनिबार हुने खेलमा शाल्केले बोरुसिया डर्टमन्डको सामना गर्नेछ। लिगको अन्तिम चरणका खेलहरु २७–२८ जुनमा हुने भएको छ।
जर्मन फुटबल लिग (डिएफएल) रोकिएको लिग सुरु गर्ने तयारी गरिरहँदा कोलन क्लबका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि लिगको मिति पछाडि धकेलिएको थियो।
कोरोना भाइरसको कारण बुन्डेस लिगाका खेलहरुमा दर्शकलाई रंगशालामा छिर्न भने बन्देज लगाइएको छ। खेलाडीहरुमा पनि कोरोना भाइरसको परिक्षण गरेपछि मात्रै खेलाइने जर्मन फुटबल लिगले जनाएको छ।
खेल हुँदा रंगशालामा करिब ३ सय मानिस उपस्थित हुनेछन्। जसमा खेलाडी, स्टाफ र पदाधिकारी रहनेछन्। मार्च १३ मा कोरोना भाइरसका कारण बुन्डेस लिगा रोकिएको थियो। लिगमा २५ खेल सकिँदा ५५ अंकसहित बायर्न म्युनिख शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।