काठमाडौं- पठन संस्कृतिको विकासका लागि 'किताब यात्रा प्रालि'ले देशव्यापी रुपमा अनलाइन मार्फत किताब बिक्री वितरण सुरु गरेको छ। नेपाल पर्यटन बोर्डमा बिहीबार एक कार्यक्रमको आयोजना गरी किताव यात्रा प्रालिले 'अब यात्रा गर्नेछ किताब, तपाईंको दैलोसम्म' नामक अभियान सुरुवात गरेको हो।
काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर र दुर्गम क्षेत्रका बस्तीहरुमा पनि कुरियरमार्फत अर्डर गरेको ३ दिनभित्र पुस्तक पाठकको हातमा पुर्याउने संस्थाका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए।
लेखक नयनराज पाण्डेले यस अभियानले लेखक र पाठकबीच पुलको काम गर्ने बताए। कार्यक्रममा साहित्यकार बुद्धिसागर, ब्रजेश खनाल, सगुना शाह लगायतले किताब यात्रा अभियानको प्रशंसा गरेका थिए।

कार्यक्रममा सहभागी वक्ताहरुले नेपालका लागि अनलाइन बुक सेलिङ नौलो र जोखिमपूर्ण पेसा भएको भन्दै यस अभियानले किताब पढ्ने संस्कृतिको विकास गर्नेमा जोड दिएका थिए।
संस्थाले कर्पोरेट हाउस, बैंकिङ, हस्पिटल, स्कुल, कलेज, क्याफे, रेस्टुरेन्ट, सञ्चारगृह आदिमा व्यवस्थित पुस्तकालय सञ्चालन गर्ने लक्ष्य लिएको अध्यक्ष अधिकारीले बताए।
कृपेशकिशोर घिमीरे, विकेश भट्टराईसहितको टोलीले सुरु गरेको यस अभियानले बिहीबारदेखि नै किताव बिक्री समेत सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।