काठमाडौं- यहि हप्ता खेलाडीहरु अभ्यासमा सामेल हुने तयारीमा रहेको स्पेनिस ला लिगाका रोकिएका खेल जुनमा सुरु गर्नेगरी तयारी भइरहेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको फुटबल सिजन सकाउने योजनामा युरोपियन लिगहरु लागेसँगै स्पेनमा पनि तयारी सुरु भएको हो।
खेलाडी र पदाधिकारी सुरक्षित रहने गरी व्यक्तिगत रुपमा यहि हप्ताबाट अभ्यास गर्ने अनुमति पाएसँगै रोकिएको लिग सुरु गर्ने सम्भावना बढेको हो। मार्चदेखि रोकिएको खेल यसअघि २८ मे बाट खेलहरु गर्न सकिने बारे छलफल भए पनि अहिले जुनमा गर्ने गरी छलफल चलिरहेको हो।
ला लिगामा अहिलेसम्म २७ खेल सकिँदा ५८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। दोस्रोमा रहेको रियल मड्रिडको ५६ अंक छ।
रियल मड्रिड र बार्सिलोनाले अभ्यास सुरु गर्ने तयारी पनि गरिसकेका छन्। पहिलो चरणमा व्यक्तिगत रुपमा गरिने अभ्यासलाई परिस्थिति अनुसार सामूहिक रुपमा लगिने क्लबले जनाएको छ।
मड्रिड प्रशिक्षक जिनेदिने जिदानले कम खेलाडीहरु राखेर नै प्रशिक्षण गराउने र आवश्यकताअनुसार प्रशिक्षण शैली फेर्ने योजना बनाइरहेका छन्। आउँदो हप्तादेखि नै ला लिगाका खेलाडीहरुमा कोरोना परीक्षण गर्ने तयारी पनि भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।