काठमाडौं- जर्मन फुटबल लिग (डिएफएल)ले कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको लिग सुरु गर्ने तयारी गरिरहँदा कोलन क्लबका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि लिगको मितिमा अन्योलता बढेको छ।
रोकिएका बुन्डेस लिगा र सेकेन्ड डिभिजन सक्नका लागि जर्मन फुटबल लिगले ३६ व्यवसायिक क्लबसँग छलफल गरेको थियो। जसअनुसार लिग मे ९ तारिखदेखि पुनः सुरु गर्ने तयारी भइरहेको थियो।
त्यसमा सरकाले नै रोकिदिएपछि अब मे १६ या मे २३ मा लिग सुरु गर्नेगरी छलफल अघि बढेको छ। जर्मन फुटबल लिगले बुन्डेस लिगालाई सुरु गर्न आफूहरु तयार भएको जनाए पनि जर्मन सरकारले यसको निर्णय गर्ने छ।
जर्मन चान्सलर एन्जेला मर्केलले खेल गतिविधि कहिलेदेखि सुरु गर्ने भन्ने बारेमा आउँदो बुधबार निर्णय गरिने बताएकी छिन्।
युरोपियन लिग फुटबलमा सबैभन्दा पहिले सुरु हुने लिग बुन्डेस लिगा नै देखिएको थियो। तर कोलन क्लबका तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएकाले तोकिएको मितिमा खेल गराउन मुस्किल देखिएको छ। कोलनले क्लबका तीन जनामा कोरोना संक्रमण भएको पुष्टी गर्दै नियमित भइरहेको अभ्यासलाई भने निरन्तर गरिरहेको उल्लेख गरेको छ।
संक्रमण भएका तीन जनाको नाम गोप्य राख्दै क्लबले उनीहरु १४ दिनको क्वारेन्टाइनमा रहने जनाएको छ।
मार्च महिनाको मध्यदेखि नै कोरोना भाइरसका कारण बुन्डेसलिगा रोकिएको हो। लिगमा २५ खेल सकिँदा ५५ अंकसहित बायर्न म्युनिख शीर्ष स्थानमा रहेको छ। कोलन ३२ अंकसहित १०औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।