इटहरी-उदयपुर घर भएकै कारण अपरेसन थिएटरबाट बिरामी निकाल्ने विराटनगरको नोबेल मेडिकल कलेजलाई कारबाहीको माग गरिएको छ। बिरामीको उपचार गर्न नमान्ने अस्पताललाई कारबाही गर्न उदयपुरका जनप्रतितिनिधिले माग गरेका हुन्।
त्रियुगा नगरपालिका गाइघाटमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्यहरु विमल कार्की, नारायण बुर्जा मगर तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नोबेल अस्पताललाई कारबाही गर्ने माग गरेका हुन्।
गत बुधबार प्रसूति गराउन गएकी त्रियुगा ११ की २९ वर्षीया सरस्वती रौनियारलाई नोबेल अस्पतालले अपरेशन थिएटरबाट निकालेको घटनाप्रति खेद व्यक्त गर्दै उनीहरुले कारबाहीको माग गरेका हुन्। जस्तोसुकै प्रतिकूल अवस्थामा पनि स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक र संविधानप्रदत्त अधिकार भएको भन्दै नोबेलले उदयपुरबासीविरुद्ध घृणा फैलाउने काम गरेको मेयर चौधरीले आरोप लगाए।
उदयपुरबासीमाथि आपराधिक काम भएको भन्दै नाेबेलमाथि यथासक्य कारबाही हुनुपर्ने उनको भनाइ छ। नोबेलको विज्ञापन हुने प्रवर्द्धनात्मक कार्यक्रमहरू एक वर्षका लागि निषेध गर्नुका साथै विपद्का बेला उपचार गर्न नमान्ने अस्पतालमा बिरामी नलैजान सबैमा अपिल गरेका छन्।
प्रदेश १ का प्रदेशसभा सदस्य विमल कार्कीले कुनै पनि अस्पतालले बिरामीलाई बहानाबाजी गरेर उपचारबाट बञ्चित गर्नु मानवताविराेधी काम भएको बताए। उपचार गर्न नसक्ने कुनै कारणविनै उदयपुर घर भएकै कारण अन्यत्र रेफर गरेर बिरामीको उपचार नगर्नु अपराध भएको उनको तर्क छ। राज्यको अनुदानमा मातृशिशु कार्यक्रम चलाएको नोबेलले गरेको हर्कत बर्बरता भएको उनको आराेप छ।
त्यस्तै अर्का प्रदेशसभाका सदस्य नारायण बुर्जा मगरले प्रसूति गराउनुपर्ने जस्तो गम्भीर केशलाई उदयपुर घर भएकै कारण रेफर गर्नु गम्भीर घटना भन्दै कारबाही गर्न प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
नोबेलमा भर्ना गरिएकी रौनियारको प्रसूतिका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेपछि अप्रेसन गर्ने बेलामा उदयपुर घर भएको भन्दै बाहिर निकालिएको थियो । त्यस्तै गत शुक्रबार हात भाँचिएर अप्रेशनका लागि भर्ना भएका उदयपुरका भीमबहादुर खत्रीलाई पनि नोबेललले अप्रेशन थिएटरबाटै निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।