इटहरी–उत्तरी मोरङका किसानहरु फौजी किराको आतंकले आजित हुन थालेका छन्। लेटाङ्ग नगरपालिकाका २ का नन्दप्रसाद सुवेदीको बारीका मकै बिस्तारै सुक्दै जान थालेका छन्। केही दिन अगाडिसम्म सप्रेर आएका र सर्लक्क बढेका मकैका बोट धुजा–धुजा हुन थालेका हुन्। ‘अमेरिकन फौजी’ नामक किराको प्रकोपका कारण मकैका बिरुवा सुक्न थालेको उनी बताउँछन्।
हरेक वर्ष उत्पादन घट्दै आएकोमा यसपालि झनै अवस्था बिग्रिएको सुवेदीको भनाइ छ। केही वर्ष अगाडि १० मनसम्म मकै फलाएका उनी पछिल्लो समय देखा परेको अमेरिकन फौजी किराका कारण आधाभन्दा धेरै उत्पादन घटेको बताउँछन्। हरेक वर्ष झ्यांगिदै गएको फौजी किराको समस्याले आफू आजित भएको उनको दुखेसो छ।
फौजी किरामा लगाउने बिषादी तथा ज्ञानको अभावमा कृषकहरु अन्योलमा परेका छन्। विषादी प्रयोग गरेपछि किराहरु नष्ट भए पनि बारीको घास काट्न नमिल्ने हल्लाका कारण उनी झनै चिन्तित छन्। बर्सेनि उत्पादन घट्दै जाँदा कृषि पेशाप्रति नै निराश भएको उनको भनाइ छ। मकैमा मात्र हैन धानको उत्पादन पनि त्यसैगरी गिरावट आएको उनीहरु सुनाउँछन्। पछिल्लो समय देखिएको कोरोना भाइरसबाट बँच्न सकिने तर फौजी किराबाट बाली बचाउन नसक्ने अवस्था आएको उनीहरु बताउँछन्।
सुवेदीको जस्तै समस्यामा छिन् सोही गाउँकी मनकुमारी श्रेष्ठ। अघिल्लो वर्ष ४५ मुरी धान उत्पादन गरेकी उनले यसपटक २७ मुरीमात्र थन्क्याएको बताईन्। धान रोपेको महिनादिनदेखि देखा परेको फौजी किराका कारण धान उत्पादन घटेको उनी बताउँछिन्। स्थानीय पसलबाट औषधि ल्याएर छर्केको भए पनि खासै प्रभावकारी नभएको उनको गुनासो छ।
बर्सेनि प्रकोपको रुपमा देखिने फौजी किरा नियन्त्रण नहुने भएपछि पछिल्लो समय कृषकले वास्ता गर्न छाडेका छन्। केही वर्षअगाडि राम्ररी नै मकै उत्पादन हुने गरेको बताउने खेम बराल यसपालि सबै मकै गाईभंैसीलाई खुवाउने तयारीमा छन्। मकैबारीको घास काट्न नमिल्ने र मकैको बोट नै बिषादीयुक्त हुने हल्लाले उनले घाँसको रुपमा प्रयोग गर्न लागेका हुन्। कोरोनाबाट बँच्न घरैमा बस्दा हुने तर फौजी किराबाट बँच्न जतिगरे पनि नहुने भएको उनी बताउँछन्।
आफूहरुलाई बिषादी कसरी छर्कीने र कुन बिषादी लगाउँदा उपयुक्त हुन्छ भन्नेबारे कुनै ज्ञान नभएको उनीहरु बताउँछन्। कृषकसँगै अहिले पनि बिषादी छर्कंदा लगाउने उपकरण छैन। बिषादी नाक, कान, मुख, आँखा र छालाको माध्यमबाट मानव शरीरमा प्र्रवेश गर्ने हुँदा त्यसले निम्त्याउने जोखीमबारे उनीहरु अनभिज्ञ छन्। त्यतिमात्र हैन कुन विषादी कसरी प्रयोग गर्ने र त्यसको असर कहिलेसम्म हुन्छ भन्नेबारे अझैसम्म ठोस जानकारी पाउन नसकेको कृषकहरु बताउँछन्।
समस्या यतिमै सीमित छैन। पर्याप्त मल बिउको अभावमा खेत बाँझै छाड्नुपर्ने अवस्था आएको छ। रासायनिक मल प्रयोग नगरी अन्नबाली उत्पादन हुन छाडेपछि उनीहरु त्यसैको भर पर्ने गरेका छन्। तर पछिल्लो समयको लकडाउनका कारण गाउँसम्म मल पुग्न नसक्दा समस्या परिसकेको उनीहरु बताउँछन्।
नगरपालिकाले युद्धस्तरमा काम गरिरहेको छ : मेयर राई
उता लेटाङ्ग नगरपालिकाका मेयर शंकर राई नगरपालिकाले युद्धस्तरमा काम गरिरहेको बताउँछन्। नगरपालिकाका तर्फबाट कृषि प्राविण्धिकको टोली नै परिचालन गरिएको उनको भनाइ छ। फौजी किरा नियन्त्रणका लागि बजेट विनियोजन नभएकाले विपद व्यवस्थापनबाट रकमान्तर गरेर खर्च गर्न थालिएको उनले बताए।
‘अहिले प्रायः सबै किसानलाई बिषादी उपलब्ध गराउने काम भइरहेको छ। कृषि पसलमा किनेको विषादीभन्दा नगरपालिकाले वितरण गरेको विषादी प्रभावकारी देखिएको छ,’ उनले भने, ‘लेटाङ्ग नगरको आधार कृषि र पर्यटनसहितको पुर्वाधार भन्ने मूल नाराका साथ काम गर्न सुरु गरिँदै छ। तर यो बीचमा धेरै चुनौती देखापरेका छन्। अब व्यावसायीक कृषिका लागि पकेट एरिया बनाएर अनुदानसहितको कार्यक्रम ल्याउने तयारी थालेका छौं। बेमौसमी तरकारी उत्पादनका लागि टनेल वितरण गर्न वडास्तरमा व्यावसायीक कृषकहरु छनोट गर्ने काम भइरहेको छ।’
किसान आफैं चनाखो हुनुपर्छ : किट विज्ञ
किरा लागेको र विषादी छर्कनेबारे किसान आफैं चनाखो हुनुपर्ने किट विज्ञको सुझाव छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका किट विज्ञ किशोर भन्डारीका अनुसार मकै वा धान रोपेको तेस्रो हप्तादेखि नियमित अनुगमन गर्नुपर्ने हुन्छ। केन्द्रका तर्फबाट भर्खरै धरानमा फौजी किरा नियन्त्रणका लागि अनुसन्धान गरिएको उनले बताए।
यो नयाँ प्रजातीको जटिल प्रकृतिको किरा भएकाले यसको नियन्त्रण त्यति सहज नभएको उनको भनाइ छ। भर्खरै बजारमा आएका कोराजीन र सपाइनोसाड नामको विषादी प्रयोग गर्दा नियन्त्रण सहज हुने उनले बताए। एक लिटर पानीमा ०.३ एमएल अनुपातले मिसाएर विषादी लगाउनुपर्छ। यी विषादी प्रयोग गरेको ३ हप्तापछि घाँस खुवाउन सकिने उनको भनाइ छ।
‘एकपटक लगाएको विषादी अर्को पटक प्रयोग गर्दा किराले विषादी पचाइसकेकाले खासै काम गर्दैन। त्यसैले विषादी फेरिफेरि प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘यो मानव शरीरका लागि अन्यन्तै हानीकारक हुने भएकाले आँखा, कान, नाक, मुख छोप्ने व्यक्तिगत सुरक्षा सामग्री लगाएरमात्र विषादी छर्कनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।