काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडले अब आठ दिन पछिबाट अभ्यास सुरु गर्ने भएको छ। पहिलो चरणमा व्यक्तिगत रुपमा गरिने अभ्यासलाई परिस्थिति अनुसार सामूहिक रुपमा लगिने क्लबले जनाएको छ।
प्रशिक्षक जिनेदिने जिदानले कम खेलाडीहरु राखेर नै प्रशिक्षण गराउने र आवश्यकताअनुसार प्रशिक्षण शैली फेर्ने योजना बनाइरहेका छन्। आउँदो हप्तादेखि नै ला लिगाका खेलाडीहरुमा कोरोना परीक्षण गर्ने तयारी पनि भइरहेको छ।
ला लिगाका खेलाडीहरुले आउँदो सोमबारदेखि खेल अभ्यास गर्न पाउने गरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अनुमति दिएका थिए। कोरोना भाइरस (कोभिड १९) का कारण आइपरेको परिस्थिति सुधार गर्न विस्तारै अघि बढ्ने योजना सुनाएसँगै खेलाडीहरु अभ्यासमा सामेल हुन पाउने भएका हुन्।
‘व्यावसायिक खेलाडीहरुले व्यक्तिगत रुपमा मे ४ देखि अभ्यास गर्न सक्नेछन्। खेल क्षेत्रमा सबै सुरक्षाका उपायहरु अपनाएर विस्तारै अघि बढ्ने वातावरण बनाइनेछ’ उनले भनेका छन्। उनले अर्को चरणमा ५० जनासम्म एकै ठाउँमा रहन पाउने गरी काम गर्ने र तेस्रो चरणमा अझ सहज बनाइने बताएका छन्।
ला लिगामा अहिलेसम्म २७ खेल सकिँदा ५८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा थियो। दोस्रोमा रहेको रियल मड्रिडको ५६ अंक छ। अहिले स्थगित रहेको खेल कहिले हुने भन्ने यकिन छैन। २८ मे बाट खेलहरु गर्न सकिने बारे छलफल भए पनि अहिले नै केही भन्न सकिने स्थिति छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।