काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल सकाउन क्लबको घरेलु मैदानको विकल्पका रुपमा कुनै तेस्रो मैदान आवश्यक पर्ने क्लबहरुले बताएका छन्।
प्रिमियर लिग क्लबका प्रतिनिधिसहित भिडियोमार्फत भएको बैठकमा क्लबहरुले ‘होम एण्ड अवे’ मैदान नभई कुनै ‘न्युट्रल’ मैदानमा खेल गर्नुपर्ने निश्कर्ष निकालेका हुन्। त्यसका लागि विभिन्न १० मैदान प्रयोग गरिने गरी छलफल भइरहेको छ।
प्रिमियर लिगमा अब बाँकी रहेका ९२ खेल सकाउन ४० हजार खेलाडी, प्रशिक्षक र पदाधिकारीको कोरोना भाइरस परीक्षणसमेत गर्नुपर्ने बताइएको छ। बन्द रंगशालामा खेल गरिने भए पनि त्यसअघि खेलमा संलग्न हरेकको प्ररीक्षण सकाउनुपर्ने भएको हो।
प्रिमियर लिग जुन ८ बाट सुरु गर्ने तयारी भइरहँदा खेलाडीहरु पूरा अभ्यासमा मे १८ देखि सामेल हुनुपर्ने छ।
यस्तोमा अहिले नै मैदानमा फर्किहाल्न केही खेलाडीहरु तयार हुन समस्या हुने आवाज समेत सुनिएका छन्।
‘अहिलेको अवस्थामा खेलमा फर्कन धेरैजसो खेलाडीहरु डराइरहेका छन्। उनीहरुलाई आफ्नो परिवार र बालबच्चाका कारण डर भएको हो। मलाई पनि त्यस्तै डर छ। अहिले घरभित्र प्रेमिकासँग बसिरहेको छु। यहाँबाट बाहिर निस्किएँ भने मात्र अरु व्यक्तिको नजिक पुग्नेछु’ म्यानचेस्टर सिटीका स्ट्राइकर ग्युरोले भनेका छन्।
प्रिमियर लिग मार्च १३ देखि रोकिएको हो। सबै क्लबले गरेर अब ९२ खेल खेल्न बाँकी रहेको छ। बाँकी खेलहरु बन्द रंगशालामा खेलिने र टेलिभिजन प्रसारण सित्तैमा गर्नेगरी तयारी भइरहेको छ।
नोटः यसअघि परीक्षण लेखिनुपर्नेमा प्रशिक्षण भएकोमा सच्याइएको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।