काठमाडौं– पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई फ्रेन्च लिग वान फुटबलको उपाधि प्रदान गरिने भएको छ।
कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित भएको लिगका बाँकी खेल सुचारु नहुने भएपछि लिगको शीर्ष स्थानमा रहेको पिएसजीलाई उपाधि दिन लागिएको हो। शीर्ष स्थानमा रहेको पिएसजीको दोस्रो स्थानमा रहेको मार्सेलीको भन्दा १२ अंक बढी छ। पिएसजीको २७ खेलबाट ६८ अंक हुँदा दोस्रो स्थानमा रहेको मार्सेलीको २८ खेलबाट ५६ अंक छ।
विश्वभर फैलिएको कोरोना भाइरसको कारण फ्रान्स सरकारले यही साता यो सिजनका सबै खेलकुद रद्द गर्ने निर्णय गरेको थियो।
पिएसजीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नासिर अल खिलाफीले सरकारको निर्णयलाई आफूहरुले पूर्णरुपमा साथ दिएको बताएका छन्।
उनले भनेका छन्, ‘हामी फ्रान्सेली सरकारले च्याम्पियनसिपको अन्त्य गर्न लिएको निर्णय बुझ्छौं, सम्मान गर्छौ र समर्थन। सरकारले स्वास्थ्य जसरी ध्यान दिएको छ, यसमा सबैको पहिलो प्राथमिकतामा हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।