काठमाडौं– बक्स अफिस सञ्चालनमा ल्याउन लागेको भन्दै नेपाल चलचित्र विकास बोर्डविरुद्ध मुद्दा हाल्न तम्सिएका सासंद रामवीर मानन्धर कुरा बुझेपछि फर्किएका छन्।
बोर्डले आउँदो बैसाख १ गतेबाट लागू गर्न लागेको बक्स अफिसको विरुद्धमा मानन्धर बुधबार बोर्डको अफिस पुगेका थिए। काठमाडौं क्षेत्र नं ७ का सांसदसमेत रहेका मानन्धर बालाजु बाइपासस्थित अष्टनारायण सिनेमा हलका सञ्चालक हुन्।
‘उहाँ लगायत अन्य केही हलवालाहरुले बक्स अफिस विरुद्धमा कुरा गर्दै आउनुभएको छ। केही समय अघिबाट नै मुद्दा हाल्ने उहाँहरुको तयारी थियो,' बोर्डकी अध्यक्ष निकिता पौडेलले बताइन्, 'तर उहाँले कुरा बुझेपछि फर्कनुभयो।’
बक्स अफिस सञ्चालनमा आउँदा चलचित्र उद्योग र राज्यलाई नै फाइदा पुग्ने भनेर आफूले कुरा गरेपछि बक्स अफिसका लागि इ–टिकेटिङका लागि पनि सहमत भएर मानन्धर फर्केको उनले बताइन्।
बोर्डले बैसाख १ बाट उपत्यकाभित्र र साउदेखि नेपालभर बक्स अफिसको अनिवार्य व्यवस्था गर्न लागेको छ।
बोर्डकी अध्यक्ष पौडेलका अनुसार बैसाख १ भित्रमा उपत्यकाभित्रका गोपीकृष्ण, अष्टनारायण, गुण सिनेमा जस्ता हलहरुमा कम्प्युटर जडान र प्राविधिक प्रशिक्षणको कार्य भइरहेको र अन्य हलमा पनि तयारी अघि बढेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।