काठमाडौं- स्पेनिस ला लिगाका खेलाडीहरुले आउँदो मे ४ देखि खेल अभ्यास गर्न पाउने भएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना भाइरस (कोभिड १९) का कारण आइपरेको परिस्थिति सुधार गर्न विस्तारै अघि बढ्ने योजना सुनाएसँगै खेलाडीहरु अभ्यासमा सामेल हुन पाउने भएका हुन्।
‘व्यावसायिक खेलाडीहरुले व्यक्तिगत रुपमा मे ४ देखि अभ्यास गर्न सक्नेछन्। खेल क्षेत्रमा सबै सुरक्षाका उपायहरु अपनाएर विस्तारै अघि बढ्ने वातावरण बनाइनेछ’ उनले भनेका छन्। उनले अर्को चरणमा ५० जनासम्म एकै ठाउँमा रहन पाउने गरी काम गर्ने र तेस्रो चरणमा अझ सहज बनाइने बताएका छन्।
कोरोनाले खेल गतिविधि रोकिनुअघि स्पेनिस ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच यो सिजन उपाधि भिडन्त रोचक हुने देखिएको थियो। तर कोरोनाका कारण खेल स्थगित भएसँगै त्यो रोमाञ्चकता पनि सकिएको छ।
२७ खेल सकिँदा ५८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा थियो। दोस्रोमा रहेको रियल मड्रिडको ५६ अंक छ। अहिले स्थगित रहेको खेल कहिले हुने भन्ने यकिन छैन। २८ मे बाट खेलहरु गर्न सकिने बारे छलफल भए पनि अहिले नै केही भन्न सकिने स्थिति छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।